हेम रोकाहा/कायाकैरन
भरतपुर,३० बैैैशाख ।
भोलि (वैशाख ३१ गते) हुने स्थानीय तहको चुनावको प्रतीक्षा व्यग्र छ । शुक्रबार मतदान केन्द्रमा परिचयपत्र लिन आएका सर्वसाधारण पनि भोट हाल्ने कुराले निकै उत्साहित देखिन्थे । तर, भोट हाल्दा पार्टीको झण्डा हेरेर हाल्ने कि योग्य मान्छे पहिचान गर्ने भन्नेमा द्विविधामै छन् ।
स्थानीय चुनावमा मान्छे हेरेर भोट हाल्नुपर्छ भनिएपनि सबैले आफ्नो आस्था भएको पार्टीलाई इन्कार गर्न नसक्ने नारायणी नमूना माध्यमिक विद्यालय भरतपुरमा मतदाता परिचयपत्र लिन आएका गुँरासचोक निवासी देवेन्द्रकुमार उप्रेती ‘गोठाले’ले बताए । “भोट हाल्दा झण्डासँगै मान्छे हेरेर हाल्ने हो”, उप्रेतीले भने, “तर आफ्नो आस्था भएको झण्डाचाहिँ पहिलो प्राथमिकतामा पर्छ ।” पार्टी हेरेर भोट हाल्ने संस्कार नै भइसकेकाले कसैले पनि पार्टीभन्दा बाहिर भोट नहाल्ने उनको भनाइ छ । उनी भन्छन्, “तातो पोखरीको माछा चिसो पोखरीमा बाँच्न सक्दैन अनि चिसो पोखरीको माछा तातो पानीमा बाँच्न सक्दैन ।” भोट हाल्दा सक्षम, विकासशील, समाजसेवी उम्मेद्वार भए÷नभएको थोरै ख्याल भने गर्नुपर्ने उनी बताउँछन् ।
उप्रेती नजिकै बसेका भरतपुर–१०, हाटबजारका सुरेन्द्रराज पौडेलको पनि उस्तै विचार छ । चुनावको सम्बन्धमा पार्टी नै महत्वपूर्ण रहेको उनी बताउँछन् । पौडेल भन्छन्, “सबैले मुखले समाजसेवीलाई भोट हाल्छु भन्छन् । तर, गोप्य मतदानमा सबैले प्राथमिकता दिने भनेको पार्टीलाई नै हो ।” पार्टी अहिले चलनचल्ती जस्तै बनेको उनले बताए ।
विश्लेषक रमाकान्त सापकोटा भने अहिलेको समयमा भोट हाल्दा जनताले एउटामात्रै माध्यम नबनाउने बताउँछन् । जनताले यसपाली उम्मेद्वारको व्यक्तित्व पनि हेर्ने उनी बताउँछन् । “जनताले भोट हाल्ने माध्यम एउटा त पार्टी हो नै”, सापकोटाले भने, “तर, त्यतिमात्रै नभई जनताले उम्मेद्वारको व्यक्तित्व, क्षमता र विगतको सामाजिक जीवन पनि हेर्नेछन् । र अर्को मापदण्ड भनेको आफ्नो घर टोल छिमेकमा नजिक रहेका व्यक्तिको चरित्र हुनेछ ।” अहिले नयाँ पुस्ताहरु पनि आफ्नो आस्था अनुसार संगठित रहेको उनले बताए । विगतका नतिजाहरुलाई हेर्दा नयाँ पार्टी र नयाँ मान्छेलाई पनि जनताले परीक्षण गरेको हँुदा सबै जनता पुरानै आस्थामा पनि नबस्ने सापकोटाको विश्लेषण छ । पार्टी नहेरी राम्रो व्यक्तिलाई छानियो भने लोकतन्त्र बलियो हुने उनको भनाइ छ । उनी भन्छन्, “देशमा पार्टीका कार्यकर्ता भन्दा स्वतन्त्र नागरिक हावी भएमा मात्र लोकतन्त्र बलियो हुन्छ ।” तर, हाल स्वतन्त्र जनताको संख्या कम रहेको उनले बताए । राजनीतिबारे केही नबुझेका, दैनिक श्रम गरेर खाने निम्नस्तरका मानिसहरु भने कसको कुरामा प्रभाव पर्छन् भन्ने कुरामा भर पर्ने उनको भनाइ छ ।
मान्छे हेरेर भोट हाल्ने पनि
भरतपुर–१० का कृष्ण भुषाल भने यसपालि उम्मेद्वारको चरित्र हेरेर भोट हाल्ने सुरमा छन् । “भोट त मान्छे हेरेर नै हाल्ने हो । इमान्दार, स्वच्छ छवि भएको, समाजमा भिजेको तथा विकास चाहने मान्छे खोजेर भोट हाल्ने हो”, उनले भने । तर, पूर्णरुपमा पार्टीको झण्डालाई नकार्न भने नसकिने उनी बताउँछन् । भन्छन्, “आफूले आस्था राख्ने पार्टीको झण्डाले केही न केही प्रेरित भने पक्कै गर्छ ।”
“यसपालि मेरो भोट छरिएर जान्छ”, हिमालीचोक निवासी मुन्नीदेवी पोखरेलले भनिन्, “आफ्नो पार्टीगत आस्था जे भएपनि यो केन्द्रको चुनाव जस्तो होइन । आफ्नो गाउँठाउँको विकाससँग सम्बन्धीत भएकाले मान्छे हेरेर भोट हाल्ने हो ।” राजनीतिक पार्टीको आस्था मात्रै भनेर सति जान नहुने बताउँदै उनले उम्मेद्वारको स्वार्थ र चरित्र हेर्न आवश्यक रहेको बताइन् । सकेसम्म आफ्नै ठाउँको स्थानीय व्यक्तिलाई चुन्दा राम्रो हुने उनेको राय छ ।
नारायणी नमूना माध्यमिक विद्यालय भरतपुरमा मतदाता परिचयपत्र लिन आएका एक ८६ वर्षीय पाका व्यक्तिले परिवारसँग सल्लाह गरेर भोट हाल्ने बताए । “छोराहरु भोलि (शनिबार) आउँदैछन्” उनले भने, “उनीहरु पढेलेखेका मान्छे म नपढेको मान्छे भोट हाल्नुभन्दा पहिले सोधखोज त गर्नुप¥यो नि ।” आफूले हालका उम्मेद्वार कसैलाई पनि नचिनेका कारण कसलाई भोट हाल्ने भन्ने मानसिकता नबनाएको उनले बताए ।