भरतपुर,२ भदौ ।
९० वर्ष पुगेकी समाजसेवी मैयाँदेवी श्रेष्ठ बाढीप्रभावितको लागि राहत बाढ्न आफै पुगेकी छन् । हरेक वर्ष उनले आफैले स्थापना गरिदिएको मैयाँदेवी कन्या कलेजमा तीज विशेष तथा दर खाने कार्यक्रम आयोजना गर्थिन् । तर, यसपालि सो कार्यक्रम स्थगन गरेर बाढीप्रभावितलाई सहयोग गर्ने रहन उनले व्यक्त गरिन् । अनि उनका सहयोगीले त्यही कार्यक्रम बनाए ।
जिल्लामा बाढीको क्षतिबाट दुःखी बनेकी उनले माडीमा बढी क्षति भएको थाहा पाएपछि राहतको प्याकेज बनाएकी हुन् । उनी संरक्षक रहेको कन्या कलेजले राहत वितरणको कार्यक्रम गरेको हो । कन्या कलेजले हरेक वर्ष तीजमा दर खुवाउने कार्यक्रम गर्ने गरेको छ । “यसपटक बाढीले समग्र देश रोएको बेला मुखैमा आएको तीज मनाउन मन मानेन”, कलेजका अध्यक्ष टंकनाथ पौडेलले भने, “दर खुवाउँदा हुने खर्च बाढीबाट पीडामा परेकालाई दिऔं भन्ने आमाको पनि इच्छा भएकोले दुःख बाँडेका हौं ।” उनका अनुसार माडी बरुवाका एक सय घरपरिवारलाई एक लाखभन्दा बढी रकमको राहत वितरण गरिएको हो । उनले बाढीप्रभावित क्षेत्रका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने पनि बताए । राहत वितरणका लागि कलेजका विद्यार्थी संगठन प्रमुख पनि त्यस क्षेत्रमा पुगेका थिए ।
पूर्वसांसद्समेत रहेकी श्रेष्ठले जिल्लाको अवस्था देखेर मन थाम्न नसकी राहत बाँड्न आएको बताइन् । “यहाँ आउँदा थाहा पाएँ, सबै अलपत्र परेका रै’छन्”, श्रेष्ठले भनिन्, “दुःखीलाई बाँडेर घट्दैन, झन् भगवानले थपिदिन्छन् ।” श्रेष्ठले बाढीप्रभावितको लागि धारा र विद्यालयलाई सहयोग गर्ने बताइन् । अहिलेसम्म केही नपाएको गुनासो गरेका प्रभावितले बासस्थानको माग गरेका छन् । बाढीले घर भत्काएपछि कतिपय सार्वजनिकस्थलमा बस्दै आएका छन् । राहत वितरण कार्यक्रममा पूर्वमन्त्री धनिराम पौडेल, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल, नेपाली कांग्रेसका नेता डा. सूर्यकान्त घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तीज सुरु हुनु कयौं दिन बाँकी छँदै तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तीजको कार्यक्रम छोडी राहतमा जुटेका छन् । तर, शारीरिकरुपमा अस्वस्थ भएपनि मैयाँदेवी आफै स्थलमा पुग्नु अझै प्रेरणादायी भएको पौडेलले बताए ।
त्यसो त तीज आउनै लाग्दा जिल्लाका विभिन्न ठाउँ र तराईमा बाढीबाट ठूलो जनधनको क्षति भएपछि उनीहरू संस्थागतरूपमा उद्धार र राहतमा जुटेका हुन् । जिल्लाका महिलासँग सम्बन्धित अधिकांश संघसंस्थाले तीजमा जुटेर नाचगान गर्ने, भोज खाने र त्यसलाई स्थानीय टेलिभिजनमा प्रसारण गर्ने गर्थे । यसवर्ष भने यस्ता गतिविधि जिल्लामा शून्यजस्तै भएको छ ।
हालैमात्र भरतपुर महानगरपालिकाको उपप्रमुखमा विजयी नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह गाउँदेखि वडा, नगर, क्षेत्र हुँदै जिल्लासम्मका सबै तीजका कार्यक्रम स्थगित गरी बाढीपीडितका लागि राहतमा जुट्न निर्देशन दिइएको बताउँछिन् । अधिकांश ठाउँमा तीजका लागि आर्थिक संकलन भइसकेको, होटल र पार्टी प्यालेस बुक भइसकेको भए पनि स्थगित गरी संकलित रकम राहत वितरणमा खर्च गर्न सुरु गरिएको उनले बताइन् ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ चितवनकी अध्यक्ष सरस्वती विष्ट विपत्ति परेका बेला रमाउन नसकिने बताउँदै जेजस्तो सकिन्छ, प्रभावितलाई सहयोग गरेर यस वर्षको तीज मनाउने तयारीमा रहेको बताउँछिन् । संघले जिल्लादेखि गाउँ तहसम्म बाढी प्रभावितलाई सहयोग गर्न आग्रह गरेको उनले उल्लेख गरिन् ।
माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनकी अध्यक्ष संगीता भट्टराई देश रोइरहेका बेला नाचगान र भोजभतेर आवश्यक नरहेको बताउँछिन् । जिल्लादेखि गाउँ तहसम्मका तीजका सबै कार्यक्रम स्थगित गरी तीजका लागि उठेको रकम राहतमा खर्च गर्न भनिएको उनले बताइन् ।
पत्रकारसँग सम्बन्धित विभिन्न संघ संगठनका महिला विभागले गर्ने तीज कार्यक्रम पनि यसवर्ष स्थगित भएको छ । नेपाल पत्रकार महासंघका महिलाले साउन ३२ गतेका लागि तय गरेको कार्यक्रम स्थगित गरेका छन् भने प्रेस युनियनको महिला विभागले भदौ २ गतेका लागि तय गरेको तीजको कार्यक्रम स्थगित भएको विभागकी संयोजक अनिता खनालले बताइन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीजका कुनै तडकभडक कार्यक्रम नभएको भन्दै राहत र सहयोग कहाँ गर्ने भन्ने विषयमा विभिन्न संघसंस्थाले चासो दिइरहेको बताए । जिल्लामा रहेका आमा समूह, टोल सुधार समिति, सहकारी संस्थाले पनि तीजको कार्यक्रम स्थगित गरी कार्यक्रमको बजेट राहतमा वितरण गरेका छन् ।