ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर,२ भदौ ।
साउन २८ र २९ गते आएको बाढीबाट घरबारविहीन र प्रभावित भएकालाई राहत सामग्री बोकेर जानेको लर्को छ । बाढीप्रभावितलाई कलाकारदेखि विभिन्न संघसंस्था र सरकारी निकायबाट पनि सहयोग जुटिरहेको छ ।
रत्ननगर नगरपालिकाभित्र बाढीबाट पीडित भएका परिवारलाई बिहीबार कलाकार पूर्जा शर्मा र सुदर्शन थापासहित विभिन्न रोटरी र रोट¥याक्ट क्लब र रत्ननगर नगरपालिकाले राहत वितरण गरेका छन् । नेपाली चलचित्रकी नायिका शर्मा र निर्देशक थापाले रत्ननगर–५ का बाढीप्रभावितलाई बिहीबार राहत वितरण गरेका छन् । बिहीबार नै राजधानीदेखि आएका उनीहरुले रत्ननगर–५ का मगर टोलका सुकुमबासी बस्तीमा १ लाखभन्दा बढीको राहत वितरण गरेका हुन् ।
नायिका शर्माले बाढीलगत्तै आफूले फेसबुकबाटै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्यसको सुरुआत स्वरुप यो राहत वितरण गरिएको बताइन् । त्यहाँका ४५ घर सुकुमबासी परिवारलाई १० बोरा चामलसँगै नुन, तेल, आलु, प्याज, चाउचाउ, बिस्कुट लगायत लगाउने विभिन्न कपडाहरु वितरण गरिएको निर्देशक थापाले जानकारी दिए । चलचित्रकर्मीले गरेको यो काम उदाहरणीय रहेको र अन्य कलाकर्मीले पनि सहयोगमा सक्रियता देखाउनुपर्ने अर्का चलचित्र निर्देशक शोभित बस्नेतले बताए । बाढीका कारण त्यहाँका सम्पूर्ण घर डुबानमा परेकाले अझै सहयोगको खाँचो रहेको वडाअध्यक्ष कृष्ण चौधरीले बताए ।
यस्तै रत्ननगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई राहात वितरण सुरु गरेको छ । बिहीबार मात्र नगरपालिकाले ६ वटा वडाका ३ सय ६२ घर परिवारलाई राहत वितरण गरेको हो । नगरपालिकाले वडा नम्बर ३ बन्सीका १० घर, वडा नम्बर ४ सेरीका ४ घर, वडा नम्बर ५ मगरटोलका ३५ घर, वडा नम्बर ६ का ४४ घर, वडा नम्बर ७ का २ सय २५ घर र वडा नम्बर ९ का ४५ घर परिवारलाई राहत वितरण गरिएको विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहालले जानकारी दिए ।
बाढीप्रभावितलाई प्रतिघर परिवार १० किलो चामल, एक लिटर तेल, एक केजी दाल र फिनेल वितरण गरिएको उनले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उपमेयर विमला दुवाडी र सम्बन्धित वडाका वडाध्यक्षहरुले राहत हस्तान्तरण गरे ।
यसैगरी खैरहनी नगरपालिकाले बाढीप्रभावित ६ वटा वडाका बाढीप्रभावितलाई राहत वितरण गरेको छ । खैरहनी नगरपालिका १, ६, १०, ११, १२ र १३ नम्बर वडाका ६२ घरपरिवारलाई राहत वितरण गरिएको नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिए । उनलाई प्रतिव्यक्ति ५ किलो चामल, २ किलो दाल, तेल, नुन, मसला म्याट, चिउरा, चाउचाउलगायत सामग्री वितरण गरिएको हो ।
साथै खैरहनी ११ का ११ घर, १० को ३ घर र १३ को ५ घरमा पुर्ण रुपमा क्षती भएकाले उनीहरुलाई खाना पकाउने भाडाको सेटनै प्रदान गरिएको नगर प्रमुख चौधरीले बताए । त्यस्तै बाढीका कारण घरबारविहीन बनेका रत्ननगर–७, सिसुवारका मुसहर समुदायलाई बिहीबार राहत वितरण गरिएको छ । रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ गैंडाकोट तथा गैंडाकोटबाहेक अन्य पाँच वटा रोटरी क्लबअन्तर्गतका रोट¥याक्ट क्लबहरुले संयुक्तरुपमा राहत वितरण गरेका हुन् ।
बाढीप्रभावित मुसहरलाई प्रतिपरिवार ३० किलो चामल, पाँच किलो आलु, पाँच किलो चिउरा, सोयाविन तेल, नुन, दाल, मसला वितरण गरिएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णु शर्माले जानकारी दिए । त्यसैगरी मुसहरहरुलाई लत्ताकपडा, प्रतिपरिवार दुई वटा ब्लाङकेट र म्याटसमेत वितरण गरिएको उनले जानकारी दिए ।