भरतपुर, २९ वैशाख ।
स्थानीय प्रशासनले मौन अवधिको पालना गर्न सबैलाई आह्वान गरेको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आचारसंहिता पूर्णरुपमा पालना नगरे कानूनअनुसार कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ ।
निर्वाचन आचारसंहिता २०७२, स्थानीय निर्वाचन आचारसंहिता २०७३ को ५ (घ) तथा स्थानीय प्रशानस ऐन २०२८ अनुसार मौन अवधिमा ठूलो भीडभाड गर्ने, निर्वाचनको प्रचारप्रसार गर्ने तथा निर्वाचनको माहोल बिगार्ने कुनै गतिविधि गर्नेलाई ‘अन्तिम बल प्रयोग’ गर्ने चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले कायाकैरनसँगको टेलिफोन कुराकानीमा बताए । “हामी चेतावनी दिन्छौं कि यस्ता गतिविधि कोहीबाट नहोस्”, उनले भने, “भएमा अन्तिम बल प्रयोग हुन्छ ।”
उनले निर्धक्क भएर निर्वाचनमा मतदानका लागि आ–आफ्नो केन्द्रमा उपस्थित हुन सबै मतदातालाई आह्वान गरेका छन् । निर्वाचन वातावरण बिथोल्नेहरु तीव्र निगरानीमा रहेको उनले बताए । शुक्रबार नै प्रहरीले ११ जना ‘गुण्डा’ पक्राउ गरेको छ ।
तिनीहरुमध्ये २ जना व्यवसायिक गुण्डा रहेको थापाले बताए ।
त्यस्तै बढ्दो सिलिण्डर बम विस्फोटले गर्दा प्रहरीले बजारमा बेच्न राखिएको साना सिलिण्डरसमेत बरामद गर्न थालेको छ । “३७ सिलिण्डर बरामद गरिएको छ”, थापाले भने, “कसैलाई पनि साना सिलिण्डर नबेच्न आग्रह गरेका छौं ।”