आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल बालकोटतर्फ जाँदै छ। शनिबार मोर्चासँग भएको सहमतिबारे छलफल गर्न प्रधानमन्त्री बालकोट जान लागेको हो ।
मधेशी मोर्चासँग भएको सहमतिबारे एमाले नेताहरूसँग कुनै छलफल नगरेको टिप्पणी आएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार ‘विपक्षीलाई समेत सहमतिमा ल्याएर संशोधन र चुनावबारे मन्त्रीपरिषद्ले निर्णय गर्ने आशय हो ।’
प्रधानमन्त्री दाहालले आज संशोधन र चुनावबारे आवश्यक निर्णय गर्न मन्त्रीपरिषद्को बैठक बोलाएका थिए । मन्त्रीपरिषद्को बैठक स्थगित गरेर प्रतिपक्षी एमालेसँग समेत यसविषयमा छलफल गरेर राष्ट्रिय सहमति कायम गर्ने र सोही आधारमा सरकारको धारणा बनाउन दाहालले विपक्षी एमालेसँग छलफल गर्न बालकोट गएको सचिवालयले बताए ।
संविधान संशोधन पारित गर्न एमालेको पनि भूमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रिय निकासका लागि प्रतिपक्षलाई समेत सहमतिमा ल्याउने उद्देश्यले दाहाल ओली निवास गएका हुन् ।