भरतपुर, २८ जेठ ।
चेपाङ गाँउमा खाद्यान्न अभाव भएपछि नारायणगढस्थित युवा व्यवसायीको संस्था चितवन राउण्ड टेबलले खाद्यान्न सहयोग गरेको छ । लकडाउनले प्रभावित चेपाङ बस्तीमा शुक्रवार चितवन राउण्ड टेबलले राहत वितरण गरेको हो ।
कालिका नगरपालिकाको वडा नं १० स्थित बन्दीपुरे टोल, जिङ्लाउका ३५ घरधुरीका चेपाङ परिवारलाई गाउँमै पुगेर युवा व्यवसायीले खाद्यान्न वितरण गरेका हुन् । हरेक परिवारलाई एक बोरा चामल सहित खाद्य सामग्री सहयोग गरिएको राउण्ड टेबलका अध्यक्ष सुशान्त चाछनले जानकारी दिए । गरिबीको रेखामुनि रहेका नागरिकलाई विपद्का बेला जीवनयापनमा कठिनाइ भएको बताउँदै आफूहरूले थोरै बहुत सहयोग गरेको उनले सुनाए ।
ूलकडाउनले ज्याला मजदुरी गर्न नपाएपछि आर्थिक अभावमा अन्न किन्न नसक्ने अवस्थामा छन् । चेपाङ बस्तीमा अनिकाल सुरु हुन लागेको छू, चेपाङ अभियन्ता केपीकिरण शर्माले बताए । युवाहरूको सहयोगले भोकमरीको अवस्था टार्न केही मद्दत पुग्ने उनको भनाइ थियो । शर्माका अनुसार आर्थिक अभावका कारण चेपाङहरू खाद्यान्न किनेर खान सक्ने अवस्थामा छैनन् ।
राउण्ड टेबलका परियोजना संयोजक रेस्सल श्रेष्ठ, उपाध्यक्ष राहुल अग्रवाल, कोषाध्यक्ष केविन अग्रवाल, सदस्यहरू सन्तोस भट्टराई, सुलभ ढकाल, प्रतीक अग्रवाल, सरोज पौडेल र रोहन भण्डारी राहत वितरणका लागि चेपाङ बस्तीमा पुगेका थिए ।