भरतपुर, २८ जेठ ।
कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवनमा पनि ६२ देखि ६५ वर्ष उमेर समूहका नागरिकले पहिलो मात्राको खोप लगाएका छन् । लक्षित समूहलाई चिनियाँ कम्पनी सिनोफार्मद्वारा निर्मित भेरोसेल नामक खोप लगाएका हुन् । जेठ २५ र २६ गते जिल्लाका विभिन्न ७९ वटा खोप केन्द्रबाट खोपको पहिलो मात्रा दिइएको थियो । चितवनमा जेठ २५ र २६ गते ६२ देखि ६५ वर्षका ८ हजार ७ सय ९१ जनाले भेरोसेल खोपको पहिलो मात्रा लिएका छन् । भेरोसेलको पहिलो मात्रा लिएको ३ हप्तापछि दोस्रो मात्राको खोप लिइसक्नुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।