भरतपुर, २५ जेठ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ८ सय ७० जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएका १२ हजार ६५ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, एन्टिजेन विधिबाट गरिएका ५ हजार ६ सय ११ परीक्षणमध्ये १ हजार २ सय ८३ वटा नमूनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कूल ३१ लाख ६७ हजार १२९ वटा पीसीआर परीक्षण भएका छन् । हालसम्म भएका एन्टिजन परीक्षणको संख्या भने ८१ हजार ४ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्षसम्मको उमेर समूहका ८५५ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ५ लाख ९५ हजार ३ सय ६४ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १५ हजार ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०८ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ८ हजार ९८ पुगेको छ ।
भाइरसका सक्रिय संक्रमितको संख्या भने ८२ हजार ७ सय ३६ रहेको छ । हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५ सय ५० जना होम आइसोलेसनमा छन् भने बाँकी ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ७४७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३ सय ७२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या १ हजार ३ सय २१ रहेको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २५४ जनाले भेन्टिलेटरमा तथा ७३८ जना संक्रमित भने सघन उपचार कक्षमा छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख ४ हजार ५ सय ३० पुगेको छ । यो कूल संक्रमितको करिब ८५ प्रतिशत हो ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ८३६, ललितपुरमा २६९, भक्तपुरमा १२१ तथा चितवनमा ८४ जना नयाँ संक्रमित थपिएका छन् । वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा ४६, धादिङमा ४५, नुवाकोटमा ६२, मकवानपुरमा १०६, सिन्धुपाल्चोकमा ३३ तथा सिन्धुलीमा ५२ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा चितवनका छिमेकी जिल्लाहरू पर्सामा ५, नवलपुरमा ४२, नवलपरासीमा १२, तनहुँमा ३७ र गोरखामा ४९ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश नं १ का झापा, मोरङ र सुनसरी जिल्लामा क्रमशः ३१८, १९१ १७१ जना संक्रमित थपिएका छन् । प्रदेश नं २ मा सबैभन्दा धेरै धनुषामा ९५ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्कीमा २२० जना संक्रमित थपिएका छन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै पाल्पामा ९५ जना, कर्णाली प्रदेशको सुर्खेतमा १०२ जना र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा १२० जना संक्रमित थपिएका छन् ।
हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न ४६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।