भरतपुर, २० जेठ ।
रोटरी क्लब अफ नारायणी मिड टाउनले कोभिड १९को रोकथाम तथा नियन्त्रणका लागि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखालाई पीपीई सेट, अक्सिमिटर, थर्ममिटर, सर्जिकल मास्क, सेनिटाईजरलगायत विभिन्न प्रकारका औसधिसमेत सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिना र स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठलाई क्लबका अध्यक्ष रोटरियन यमनाथ दनैमार्फत करिब दुई लाख रुपैयाँ बराबरका उक्त सामग्री उपलब्ध गराइएको हो ।
उक्त गाउँपालिकामा यतिबेला २५२ जना कोभिड संक्रमितहरु आइसोलेसनमा छन् । कोभिड महामारीले विश्व समुदायलाई नै आक्रान्त पारीरहेको विषम परिस्थितिमा पालिकालाई स्वास्थ्य सामग्रीको आवश्यकता महसुस गरी रोटरीले गाउँ मै पुगेर सहयोग गरेको रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष दनैले बताए ।
प्रेसिडेन्ट इलेक्टेड राजेश्वर खनालले ज्वालामुखी गाउँपालिकामा यसअघि पनि दुईपटकसम्म रोटरी क्लबले नि:शुल्क हेल्थ क्याम्प राखीसकेको र एक घर एक खानेपानी धाराको अवधारणाअनुसार करिब एक करोड चौरासी लाखको बजेटमा खानेपानी आयोजना निर्माण भैरहेको जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले रोटरी क्लबले पटकपटक आफ्नो पालिकामा आएर सहयोग गरेको हुँदा आउँदा दिनहरुमा पनि क्लबबाट यस्तै सहयोगको अपेक्षा रहेको बताए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिड टाउनका भाइस प्रेसिडेन्ट प्रमेश्वर भण्डारी, बिराट घिमिरेलगायत विभिन्न स्वास्थ्य कार्यालयका प्रमुखहरुको पनि उपस्थिति थियो ।