भरतपुर, १८ जेठ ।
सरकारले अस्पतालहरूलाई बिरामीको उपचारवापत लाग्ने शूल्कको विवरण एक हप्ताभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सबै खालका अस्पताललाई निर्देशन दिएको हो ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायद्वारा जारी गरिएको सूचनामा अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार, त्यसको लागत रकम तथा शीर्षकसमेत उल्लेख गरी त्यसको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ ।
मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शूल्क लिएको, अक्सिजनको समेत अत्यधिक शूल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई आफैँ किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।