भरतपुर, १८ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा अस्पतालबाट ५८ जना संक्रमित निको भई घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालयले जनाएअनुसार अस्पतालमा ज्यान गुमाएकामध्ये २ जना चितवनका हुन् । यस्तै लमजुङका २, बाराका १ र मकवानपुरका १ जना संक्रमितको पनि अस्पतालमै ज्यान गएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ३ र अन्य एक अस्पतालमा १ जना संक्रमितले ज्यान गुमाएका हुन् ।
स्वास्थ्य कार्यालयले मंगलबार प्रकाशन गरेको तथ्यांकका अनुसार हाल भरतपुर अस्पतालमा ११५, चितवन मेडिकल कलेजमा १०६, कलेज अफ मेडिकल साइन्सेसमा ५३ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २९ जना संक्रमितको उपचार भइरहेको छ । पुष्पाञ्जली, नारायणी सामुदायिक र भरतपुर सेन्ट्रल अस्पतालमा पनि २३ जना संक्रमितले उपचार गराइरहेका छन् ।
भरतपुर अस्पतालले कोभिड उपचारका लागि १९०, सीएमसी अस्पतालले २६०, सीएमएस अस्पतलाले २०० तथा क्यान्सर अस्पतालले १४२ वटा बेड छुट्याएका छन् । रत्ननगरको गुञ्जमान सिंह अस्पतलाले पनि कोभिड बिरामीका लागि १० वटा शय्या छुट्याएको छ ।
भरतपुर महानगरपालिकाले ५० बेड, रत्ननगरले २८ बेड, राप्तीले २० बेड र कालिकाले १२ बेडको आइशोलेसन सेन्टर सञ्चालन गरेका छन् । ती सबैमा शय्यामा अक्सिजनको पनि व्यवस्था गरिएको छ । यस्तै, माडीले ५ ओटा अक्सिजन सहित १० बेड क्षमताको आइशोलेसन सञ्चालनमा ल्याएको छ । खैरहनीले सञ्चालनमा ल्याएको १५ शय्याको आइशोलेसनमा ११ शय्यामा अक्सिजन समेत उपलब्ध गराइएको छ ।
यस्तै इच्छाकामना गाउँपालिकाले पनि १० वटा अक्सिजन सहितको २५ बेडको आइशोलेसन सेन्टर स्थापना गरेको छ । माडी नगरपालिकाले बघौडा अस्पताल, रत्ननगरले बकुल्हर अस्पताल तथा कालिका र राप्तीले भण्डारा अस्पतालमा आइशोलेसन निर्माण गरेका हुन् ।
हाल रत्ननगरको आइशोलेसनमा ३, माडीमा ४, खैरहनीमा ४ तथा भरतपुरमा ८ जना संक्रमित राखिएका छन् । यस्तै, इच्छाकामनामा ४ तथा कालिकामा ४ जना संक्रमित राखिएका छन् ।
जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा कोभिड संक्रमितको उपचारका लागि ९६२ वटा बेड छुट्याइएका छन् । ती मध्ये ३५३ बेड बिरामीले भरिएका छन् । हाल जिल्लाभर १७८ जना आइसीयु, ३६ जना एचडीयू तथा १३९ जना जेनरल बेडमा उपचाररत छन् । आइसीयुमा रहेकामध्ये ४५ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।