भरतपुर, १८ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनका थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३१ जनामा पीसीआर तथा ४२ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
कार्यालयले मंगलबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआरका लागि ९०० जनाको स्वाब संकलन गरिएको थियो भने ६३ वटा एन्टिजेन टेष्ट भएका थिए । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भरतपुरका ११८ जनामा (१०४ पीसीआर, १४ एन्टिजेन) संक्रमण पुष्टि भएको छ । हालसम्म भरतपुरका १० हजार ४ सय ११ जनामा संक्रमण पाइएको कार्यालयले जनाएको छ ।
चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ४५ रहेको छ । तीमध्ये १ सय ५० जना अस्पतालको आइशोलेसनमा छन् भने ४ हजार ६ सय ७९ जना घरमै आइशोलेसनमा रहेका छन् । १६ जना संक्रमित स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।
थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या १३ हजार ८ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १ सय ८४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका ८ हजार ८ सय २४ जना संक्रमितलाई निको भइसकेको छ ।
यस्तै, स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २ जना संक्रमितको निधन भएको छ । मृत्यु भएका संक्रमितहरू भरतपुर र इच्छाकामनाका हुन् । सोसँगै जिल्लाभित्र संक्रमणका कारण मृत्यु वरण गर्नेको कूल संख्या २ सय २१ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १४२ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
यस्तै, रत्ननगर नगरपालिकाका २६ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका ११ तथा राप्तीका १९ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका १३, माडी नगरपालिकाका ७ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।