काठमाडौं, १८ जेठ ।
नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरुलाई मिटर रिडिङ, बिलिङ तथा महसुल भुक्तानीका लागि अनलाइन माध्यम प्रयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै निषेधाज्ञाका कारण मिटर रिडिङका लागि घरघरमा कर्मचारी पठाउन नसकेको भन्दै अनलाइन विधि प्रयोग गर्न आग्रह गरेको हो ।
बिल प्राप्त गर्न प्राधिकरणको सम्बन्धित वितरण केन्द्र वा हटलाइन ११५० मा सम्पर्क गरी आफ्नो मिटर अंक टिपाउन सकिने छ । अथवा https://consumer.nea.org.np मा लगइन गरी प्राप्त निर्देशन अनुसारका विवरणहरु भरेर मोबाइलबाट प्राधिकरणको एन्ड्रोइड एपमार्फत् आफैं मिटर हेरेर महसुल निर्धारणका लागि पठाउन सकिन्छ । त्यस्तै नजिकका विद्युत कार्यालयमा फोन गरेर मिटरमा चढेको अंक टिपाएर बिल प्राप्त गर्न सकिन्छ ।
प्रत्येक महिना बिजुली खपत भएको बिल प्राप्त भएपछि महसुल घरबाटै अनलाइनमार्फत् बुझाउन सकिन्छ । विद्युत प्राधिकरणबाट स्वीकृत इसेवा, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, पे प्वाइन्ट नेपाल, आइएमइ पे, खल्ती, सीएसएस रेमिट लगायत सेवा प्रदायकहरुमार्फत महसुल भुक्तानी गर्न सकिन्छ ।
तीनवटै विधिबाट मिटर रिडिङ नगरे/ नगराएको खण्डमा प्राधिकरणले ग्राहकहरुको यस अघिको खपतलाई आधार बनाइ बिलिङ गर्नेछ । बिलिङ सम्बन्धी जानकारी एसएमएसबाट उपलब्ध गराउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार एसएमएस सेवाका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको छ ।
करिब ५० हजार स्मार्ट मिटर बाहेकको ग्राहकको तथ्यांक प्राधिकरणसँग छैन। एसएमएस पठाउनका लागि ग्राहकको मोबाइल नम्बर आवश्यक भएकाले नम्बर उपलब्ध गराउन आग्रह गरिएको छ । प्राधिकरणको वेबसाइट www.nea.org.np मा राखेको केवाइसी फारम अपडेट गरेर, प्राधिकरणको स्थानीय कार्यालयको टेलिफोनमा वा हटलाइन ११५० मा सम्पर्क गरेर नम्बर उपलब्ध गराउन भनिएको छ ।
प्राधिकरणले कार्यालयमा भौतिक रूपमा उपस्थित हुँदा महामारीका बेला संक्रमण फैलने जोखिम उच्च भएकाले फोन सम्पर्क गरी सेवाहरु लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।