भरतपुर, १५ जेठ ।
अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर (डब्लु.डब्लु.जे चितवन)ले फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी महिलालाई सेनिटरी प्याड वितरण गरेको छ । मे २८ मा पर्ने महिनावारी स्वच्छता दिवसको अवसरमा जिल्लाका पत्रकार महिलाहरुसँग अन्तरक्रिया गरेको डब्लुडब्लुजे चितवनले महिनावारी स्वच्छताबारे सचेतना जगाउन सेनिटरी प्याड वितरण गरेको हो ।
नेपाली समाजमा महिनावारीसँग जोडिएका विभेदपूर्ण व्यवहारलाई हटाउँदै महिनावारी सरसफाई र प्रजनन स्वास्थ्यबारे सचेतना जगाउन सांकेतिक कार्यक्रम गरिएको डब्लुडब्लुजे चितवनका अध्यक्ष प्रमिता ढकालले बताइन् । “महिनावारी स्वच्छता दिवसबारे एक दिन समाचार प्रकाशन/ प्रशारण गरेर मात्रै जिम्मेवारी पुरा भएको मान्न नसकिने अवस्थाको समाजमा हामी छौं´´, अध्यक्ष ढकालले भनिन्- “त्यसैले यो एउटा सानो प्रयास हामीले हाम्रै समुह माझबाट सुरु गरेका हौं ।´´
सेनिटरी प्याड वितरणका लागि डब्लुडब्लुजे चितवनका सल्लाहकार अनिता खनालले संयोजन गरेकी हुन् । “हामीले यो कार्यक्रम परिकल्पना गर्दै गर्दा कोरोना महामारीको विषम परिस्थितीमा फिल्डमा अनवरत खटिने सुरक्षाकर्मी महिलालाई समेत महिनावारी स्वच्छता सम्बन्धी जानकारी गराउने सोच बनायौं,´´ -संयोजक खनालले बताइन् । महिनावारी भएका बेला निरन्तर लामो समय फिल्डमा खटिँदा सरसफाई र प्रजनन् स्वास्थ्यबारे सचेत हुनैपर्नेमा उनले जोड दिइन् ।
सेनिटरी प्याड वितरणका लागि जनसम्पर्क समिति बेल्जियमका सभापति भरतपुर-१२ की नेतृ सीता सापकोटा र खनालले आर्थिक स्रोत व्यवस्थापन गरेका हुन् । जिल्लामा नेपाल पत्रकार महासंघ चितवनका सदस्य रहेका साथै क्रियाशील पत्रकार महिला करिव एक सय २० को हाराहारीमा छन् । यस्तै नेपाल प्रहरी, नेपाल आर्मी, शशस्त्र प्रहरी, ट्राफिक प्रहरी गरी करिव १ सय ५० सुरक्षाकर्मी महिला छन् । जिल्लामा रहेका विभिन्न मिडियाहरुमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी सबै महिलालाई समेट्ने गरी सहयोग गर्ने खनालले प्रतिवद्धता व्यक्त गरिन् ।
शनिवार संस्थाले फिल्डमा खटिएकै अवस्थामा रहेका पत्रकार तथा सुरक्षाकर्मीलाई सेनिटरी प्याड उपलब्ध गराइसकेको र बाँकीलाई आइतबार वितरण गर्ने डब्लुडब्लुजे चितवनकी उपाध्यक्ष सरिता पौडेलले बताइन् । एकपटक वितरण गरिने सेनिटरी प्याडले सधैँको खाँचो नटर्ने भएपनि सचेतनाको लागि कार्यक्रम गरिएको उनले प्रष्ट्याइन् ।