भरतपुर, २६ साउन ।
अनसनरत डा. गोविन्द केसीको अभियानमा ऐक्यबद्धता जनाउँदै सडक कविता वाचन गरिएको छ । चितवन र गैंडाकोटका अठार वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा भरतपुरको चौबिसकोठीमा यस क्षेत्रका कविहरु उपस्थित भएर कविता वाचन गरेका हुन् ।
वरिष्ठ कवि प्रेमविनोद नन्दनले कविता सुनाएर उदटन गरेको कार्यक्रममा क्रमैसँग मीनराज बसन्त, गणेश श्रमण, धनराज गिरी, प्रभाकर पण्डित, ईश्वर कँडेल, इन्द्र रेग्मी, सुमन घिमिरे, सुजाता पन्त, विमर्श कँडेल, कपिल अज्ञात, रामेश्वर पोखरेल, रमेश प्रभात, राजेन्द्र हमाल, तीतेपाती, राजेन्द्र घायल, जेबी थापा, लकाश पौडेल, सरोज पाठक, आविष्कार चापागाईं, लेखराम सापकोटा, अब्दुल मियाँ, उपेन्द्र त्रिपाठी, दीक्षान्त सिटौला, धनेश्वर भट्टराई, प्रा.डा. नारायणप्रसाद खनाल, केदारनाथ खनाल, सुजन कँडेल, मुकुन्द खलपात्र, गोविन्दराज विनोदीलगायत ३ दर्जन स्रस्टाले कविता सुनाए ।
उपस्थित हुन नसकेका स्रस्टाले पठाएका कविता पनि पढेर सुनाइएको थियो । मेडिकल क्षेत्रमा देखिएको बेथितिको बिरोधमा डा. केसीले एघारौंपटक अनसन बसिरहँदा उनको अभियानमा सहभागिता जनाउन उनको समर्थनमा कविता वाचन गरिएको संयोजक भूपिनले जानकारी दिए ।
कार्यक्रमका संयोजक भूपिनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कविता पढेर कार्यक्रमको थालनी गरेका थिए । अन्त्यमा अर्का अग्रज कवि गोविन्दराज विनोदीले डा. केसीकै समर्थनमा लेखिएको कविता सुनाएर कार्यक्रम सकिएको घोषणा गरे ।