भरतपुर, २६ साउन ।
माडी नगरस्तरीय ‘स्टार कप फुटबल प्रतियोगिता’ को तयारी अन्तिम चरणमा पुगेको छ । माडी १ मा रहेको स्टार स्पोट्र्स क्लब बरुबाले आयोजना गरेको सो प्रतियोगितामा माडीका खेलाडीहरु प्रतिस्पर्धामा उत्रदै छन् । प्रतियोगिता यहि २९ गते आइतबार देखि बरुवा खेलमैदानमा सुरु हुने क्लबका खेलकुद संयोजक अमितकुमार लामाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले गर्नेछन् । कार्यक्रममा सांसद उमेश श्रेष्ठ, मेयर ठाकुरप्रसाद ढकाल, उपमेयर ताराकुमारी काजी महतो लगायतको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा २२ टिमले सभागिता जनाउने प्रतिवद्धता जनाएको जानकारी दिए । क्लबहरुको टुंगो शुक्रबारसम्म लागिसक्ने बताए । यो प्रतियोगिताको २३ औं संस्करण हो । यसअघिको प्रतियोगिता बड्र्स नेपाल बघौडाले उपाधि जितेको थियो । प्रतियोगिताको फाइनल खेल भदौ ९ गते हुनेछ । हरेक दिन दुई–दुई वटा खेलहरु हुनेछन् ।
माडीमा गाउँस्तरीय २८ भन्दा बढी खेलकुद क्लबहरु छन् । ०५४ सालमा स्थापना भएको स्टार स्पोट्र्स क्लबले वर्षेनी तीज पर्वका अवसरमा माडी स्तरीय स्टार कप फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । स्टार स्पोट्र्स क्लबका अध्यक्ष सूर्यप्रसाद अधिकारीले माडीमा फुटबल खेलप्रति आकर्षण रहेपनि बजेट अभावमा रंगशाला बनाउन नसकिएको बताए । “बरुवाको खेलमैदानलाई दुई वर्ष यता १० लाख खर्चेर मर्मत सुधार गरेका छौँ”, उनले भने, “गाउँ–गाउँमा क्लब छन्, खेलकुदका गतिविधि हुने गरेका छन्, तर स्रोत अभावमा राष्ट्रिय स्तरका खेलमा पहुँच पुग्न सकेको छैन ।”
माडीका विभिन्न क्लबहरुले चितवनमा हुने जिल्ला स्तरीय प्रतियोगिताका उपाधिहरु जित्ने गरेका थिए । प्रतियोगिताको विजेता टिमलाई ५१ हजार १ सय ५१ रुपैयाँ, उपविजेतालाई २६ हजार १ सय ५१ रुपैयाँ नगद सहित कप तथा मेडल दिइने अध्यक्ष अधिकारीले जानकारी दिए । यस्तै सेमीफाइनलमा पुग्ने टिमका प्रत्येक खेलाडीलाई खेलकुद ड्रेस दिइने छ । यस्तै क्वाटरफाइनल तथा सेमीफाइनलका खेलमा म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई आकर्षक घडी उपहार दिइने छ । सो उपहार विआर इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रीक होलसेल बिक्रेता माडीले प्रायोजन गरेको छ ।