भरतपुर, १४ जेठ ।
विद्यालयहरूमा नयाँ शैक्षिक सत्र कहिले सुरु हुन्छ थाहा छैन । कोभिड बिस्तारै सामान्य हुँदै गएपछि त विद्यालय खुल्ला नै । असारको १ गतेदेखि नयाँ सत्र प्रारम्भ गर्ने गरी विद्यालयहरूले विद्यार्थीको नतिजा तयार पार्न जुटेका छन् । यहाँका थोक व्यवसायीहरूले पनि जिल्लामा चाहिने किताबको बन्दोबस्त लगभग पूरा भइसकेको बताएका छन् ।
थोक व्यवसायीले शैक्षिक सत्र सुरु हुनु अगावै प्रकाशकबाट किताब ल्याएर तयारी अवस्थामा राखेको बताएका छन् । विद्यालयले परीक्षाफल प्रकाशन गरी किताबको सूची सार्वजनिक गरेपछि खुद्रा पसलेले त्यहीअनुसार किताब उपलब्ध गराउँछन् ।
भरतपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले परिवर्तितबाहेक अन्य सबै किताब तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । जनक शिक्षाले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन भएका ४ देखि कक्षा १२ सम्मका किताबहरू बिक्रीवितरण गर्छ । “अहिले कक्षा ६ बाहेक अन्य सबै कक्षाका किताब तयारी अवस्थामा छन्”, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका वागमती प्रदेश प्रमुख रामविनय श्रेष्ठले कायाकैरनसित भने, “नयाँ शैक्षिक सत्रका लागि चितवन जिल्ला र आसपासका क्षेत्रका लागि पुग्नेजति किताबहरू आइपुगेका छन् ।” मुलुकको अवस्था सामान्य बनेर पठनपाठन सुचारु भएमा किताबको अभाव नहुने उनको भनाइ छ ।
जनक शिक्षाको भरतपुर केन्द्रबाट वागमती प्रदेशको चितवन र मकवानपुर अनि गण्डकी प्रदेशको नवलपुरका साथै प्रदेश नम्बर २ का बारा, पर्सा र रौतहट गरी ६ जिल्लामा किताब वितरण हुने गर्दछ ।
यसपटक कक्षा २, ३ र ६ का पाठ्यक्रम परिवर्तन भएका छन् । कक्षा १, २ र ३ का किताब पाठ्यक्रम विकास केन्द्रले निजी क्षेत्रलाई छपाइ र वितरण अनुमति दिएको छ भने कक्षा ४ देखि १२ सम्मका किताब जनक शिक्षाले वितरण गर्दै आइरहेको छ । श्रेष्ठका अनुसार कक्षा ६ का नेपाली, अङ्ग्रेजी र गणित विषय छापिएर तयारी अवस्थामा रहेका र बाँकी विषय जेठ महिनाभरिमा आउनेछन् ।
निजी क्षेत्रबाट प्रकाशित किताबमध्ये कक्षा १ को पाठ्यक्रम गत शैक्षिक सत्रमै परिवर्तन भएकोले बजारमा सबै पुस्तक पसलमा उपलब्ध छ । कक्षा २ र ३ का किताब पनि जेठ महिनाभरिमा आइसक्ने थोक विक्रेता मास्के पुस्तक भण्डारका सञ्चालक सरोज मास्केले बताए ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका निवर्तमान अध्यक्ष राजेन्द्र तिवारीका अनुसार निजी विद्यालयका लागि आवश्यक पर्ने पाठ्यपुस्तकहरू पनि तयारी अवस्थामा राखिएका छन् । “लगभग ६५ प्रतिशत किताब झरिसकेका छन्”, तिवारीले भने, “विद्यालयले सबै तयारी सकेर नयाँ शैक्षिक सत्र सुरु गर्नु अगाडि नै जिल्लाका सबै पुस्तक पसलमा विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक र शैक्षिक सामग्री पुगिसकेका हुनेछन् ।”
चितवन जिल्लामा हाल कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीको कूल संख्या १ लाख ५० हजार भन्दा बढी रहेको छ ।