भरतपुर, २४ साउन ।
चितवनमा झण्डै ४७ लाख खर्चेर राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न लागिएको छ । नारायणगढ जेसीसको आयोजनामा आगामी भदौ १० देखि १९ गतेसम्म पहिलो ‘ई–प्लानेट जेसीज कप’ को तयारी सुरु भएको छ ।
चितवनमा सर्वाधिक राशिको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल आर्मी, शसस्त्र र पुलिस गरी ३ विभागीय टिम, पे्रmन्ड्स क्लब, हिमालयन शेर्पा र क्षेत्रीयस्तरका चितवन–११, झापा–११, पोखरा–११, विजय युथ हेटौंडा क्लब सहभागी हुने नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले ३ लाख ५० हजार रुपैयाँ र द्वीतिय हुनेले १ लाख ७५ हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको बेस्ट गोलकिपर, म्यान अफ दी सिरिज, हरेक खेलमा म्यान अफ दी म्याच प्रदान गरिने कार्यक्रम संयोजक अमृतकुमार श्रेष्ठले जानकारी दिए ।
खेलको मुख्य प्रायोजकमा ई–प्लानेट शैक्षिक परामर्श केन्द्र नारायणगढ रहेको छ । कुरिनटारमा जेसीसद्धारा निर्मित भूकम्प पीडितको लागि १४ वटा घर परिवारको शैक्षिक, आर्थिक विकासमा रकम खर्च गरिने आयोजकले जनाएको छ ।