तीव्र विवाद, चर्चा, अवरोध र राजनीतिक ध्रुवीकरणपछि भरतपुर महानगरपालिकाले प्रमुख र उपप्रमुखसहित जनप्रतिनिधिहरु पाएको छ । गणतन्त्र स्थापनापछिको संघीयताको जनताले सबैभन्दा छिटो महसुस गर्ने परिवर्तन भनेको स्थानीय तहको परिमार्जित सेवा नै हो । २०५४ सालको स्थानीय निकाय चुनावपछि यसपालि बल्ल भएको यो चुनावले स्थानीयलाई बेग्लै उत्साह दिएको छ । यसैमा पहिलोपटक प्रमुख र उपप्रमुख दुवै महिला आएका छन् । यो झन् ठूलो छलाङ हो । भरतपुरजस्तो राष्ट्रिय राजनीतिमा तरंग फैलाउन सक्ने ठाउँको नेतृत्वदायी भूमिकामा रहनु चानचुने कुरा होइन । यो पदको उन्माद र अधिकारको दुरुपयोगबाट सधैं टाढा रहेर जनकल्याणकारी काम गर्ने हो भने यसले स्थानीय विकासमा त फड्को मार्ने छदैछ, सम्बन्धित व्यक्तिका लागि पनि यो ठूलो अवसरका रुपमा स्थापित हुन्छ ।
रेणु दाहाल भरतपुरको प्रमुखका रुपमा निर्वाचित भइन् । उनका लागि यो बाटो भने उति सहज भएन । कांग्रेसको गढ मानिने भरतपुरमा कांग्रेसकै दह्रो ‘ब्याकअप’ बाबजुत पनि उनले मनग्गे मत पाइनन् । यतिसम्म कि २९ वडा रहेको महानगरमा पहिलो २८ वटा वडाको मतगणनामा कुनैपनि बेला अग्रता लिन सकिनन् । अन्ततः भरतपुर–२० को मत नै उनका लागि निर्णायक बन्यो र उनले देशको राजनीतिमा सधैं ‘तहल्का’ पिट्ने भरतपुरको मेयर बन्ने सौभाग्य प्राप्त गरिन् । रेणुका लागि सबैभन्दा ठूलो चुनौती भनेको राजनीतिक ध्रुवीकरणलाई मिलाएर लैजाने कसरी भन्नेमा छ । १ सय ४७ जना निर्वाचित सदस्य रहेको नगर सभामा ७० जना नेकपा एमालेका प्रतिनिधि छन् । आफ्नो पार्टीका जम्मा ८ जना प्रतिनिधि छानिएका छन् । परिस्थिति यस्तो बनेको छ कि कुनैपनि काममा एमालेले आँखा चिम्लिने अवस्था छैन । अब उनको आङमा जुम्रा होइन, लिखा खोज्नेवाला छ एमाले । चुनावी घटनाले एमालेलाई नगर सभा नामक संसद्मा दह्रो प्रतिपक्ष बनाइदिएको छ । हरेक काममा अब एमालेले कडा निगरानी राख्नेवाला छ । उनीहरुको चित्त बुझाएर अघि बढ्नु रेणुको लागि ठूलो चुनौती हो । त्यसो त कांग्रेसकै बलमा मेयर भएकी उनलाई कांग्रेसको एजेण्डासमेत बोकेर हिड्नुपर्ने बाध्यता छ । यो अवस्थामा उनले हरेक निर्णय गर्नेबेलामा सोच्नुपर्ने हुन्छ । अर्को महत्वपूर्ण चुनौती भनेको भरतपुर–१९ मा मतपत्र च्यातिएको घटनालाई जनताले गम्भीररुपले लिइरहेका छन् । अधिक जनता माओवादीले पतपत्र च्यातेर चुनाव जितेकोमा विश्वास गर्छन् । यस्तो अवस्थामा अब रेणुले यस्तो गतिमा काम गर्नुपर्ने हुन्छ कि जनताले त्यो घटना बिर्सियोस् र मतपत्र च्यातेर आएको होइन, म क्षमताले मेयर भएको हुँ भन्ने रेणुले प्रमाणित गर्न सकून् ।
रेणुले सधैं सबैले प्रचण्डपुत्री भनेको सुन्दै आएकी छन् । प्रचण्डकै बलका कारण उनी मेयर बनेको ठान्नेहरु पनि छन् । यसलाई गलत सावित गर्नपनि अब रेणुले काम गर्नुपर्ने हुन्छ । राष्ट्रिय राजनीतिमा चलायमान नभएको, चितवनमा लामो समय योगदान नगरेको आरोप उनीमाथि छ । यी सबै आरोपको खण्डन गर्ने राम्रो अवसर उनको हातमा आइपुगेको छ । कुनैपनि हालतमा जनताले खोज्ने भनेको विकास हो । अहिले झन् धेरै अधिकारसहितको स्थानीय तह जनताको दैलोमा आइपुगेको छ । यस्तै तहको कार्यकारीमा उनी निर्वाचित भएकी छन् । काम गरेर देखाउने ठूलो अवसरका रुपमा लिएर भ्रष्टाचाररहित ढंगबाट सर्वसाधारणले खोजेको सेवा प्रवाह गर्ने महानगरका रुपमा उनले स्थापित गर्नुपर्ने हुन्छ । यो उनका लागि सजिलो छैन । तर, माओवादी–कांग्रेसको गठबन्धन राष्ट्रियदेखि स्थानीयस्तरसम्म भएको बेला उनका लागि बलियो आधार पनि छ, यसलाई कार्यान्वयन गरेर देखाउने ।
(२०७४ साउन २४ गते मंगलबार कायाकैरन दैनिकमा प्रकाशित सम्पादकीय)