भरतपुर, १० जेठ ।
पछिल्लो २४ घण्टामा चितवनमा १५ जना कोरोना संक्रमितको निधन भएको छ । अस्पतालमा मृत्यु हुनेमध्ये सबैभन्दा धेरै रुपन्देहीका ४ तथा बाराका ३ जना संक्रमित रहेका छन् । यस्तै चितवनका एक संक्रमितको पनि चितवन मेडिकल कलेज अस्पतालमा मृत्यु भएको छ । ७ जना मृतक भने अन्य जिल्लाका हुन् । २४ घण्टाकै अवधिमा यहाँका अस्पतालबाट ६० जना निको भई घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा बाराका एक जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ७ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ६ जना संक्रमितले उपचारका क्रममा ज्यान गुमाएका छन् । विपी कोइराला क्यान्सर अस्पतलामा पनि रौतहटका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा १४२, चितवन मेडिकल कलेजमा १२५, कलेज अफ मेडिकल साइन्सेसमा ९२ तथा क्यान्सर अस्पतालमा ५६ जना संक्रमितको उपचार भइरहेको छ । पुष्पाञ्जली, नारायणी सामुदायिक र भरतपुर सेन्ट्रल अस्पतालमा पनि ३४ जना संक्रमितले उपचार गराइरहेका छन् ।
भरतपुर अस्पतालले कोभिड उपचारका लागि १६९, सीएमसी अस्पतालले २६०, सीएमएस अस्पतलाले २०० तथा क्यान्सर अस्पतालले १४२ वटा बेड छुट्याएका छन् । रत्ननगरको गुञ्जमान सिंह अस्पतलाले पनि कोभिड बिरामीका लागि १० वटा शय्या छुट्याएको छ ।
भरतपुर महानगरपालिकाले १५ बेड, रत्ननगरले २८ बेड, राप्तीले २० बेड र कालिकाले १२ बेडको आइशोलेसन सेन्टर सञ्चालन गरेका छन् । ती सबैमा शय्यामा अक्सिजनको पनि व्यवस्था गरिएको छ । यस्तै, माडीले ५ ओटा अक्सिजन सहित १० बेड क्षमताको आइशोलेसन सञ्चालनमा ल्याएको छ । खैरहनीले सञ्चालनमा ल्याएको १५ शय्याको आइशोलेसनमा ११ शय्यामा अक्सिजन समेत उपलब्ध गराइएको छ । यस्तै इच्छाकामना गाउँपालिकाले पनि १० वटा अक्सिजन सहितको २० बेडको आइशोलेसन सेन्टर स्थापना गरेको छ । माडी नगरपालिकाले बघौडा अस्पताल, रत्ननगरले बकुल्हर अस्पताल तथा कालिका र राप्तीले भण्डारा अस्पतालमा आइशोलेसन निर्माण गरेका हुन् ।
हाल रत्ननगरको आइशोलेसनमा २, माडीमा ५, खैरहनीमा ३ तथा भरतपुरमा ५ जना संक्रमित राखिएका छन् । यस्तै, इच्छाकामनामा ५ तथा कालिकामा ४ जना संक्रमित राखिएका छन् ।
जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा कोभिड संक्रमितको उपचारका लागि ८९८ वटा बेड छुट्याइएका छन् । ती मध्ये ४७३ बेड बिरामीले भरिएका छन् । हाल जिल्लाभर २३३ जना आइसीयु, ७३ जना एचडीयू तथा १६७ जना जेनरल बेडमा उपचाररत छन् । आइसीयुमा रहेकामध्ये ६० जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।