भरतपुर, ८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुक्रबार मध्यराति दोस्रो पटक संसद विघटन गरिएको घटनाप्रति नेपाली कांग्रेस चितवन जिल्ला कमिटिले पनि भर्त्सना गरेको छ । कमिटिले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको आडमा भएको उक्त घटनाले लोकतन्त्रलाई कमजोर बनाएको भन्दै त्यसतर्फ आफूहरूको ध्यानाकर्षण भएको जनाएको हो ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “संविधानको प्रभावकारी कार्यान्वयनमार्फत लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढीकरण गर्दै वर्तमानको कोरोना महामारीसँग एकताबद्ध रूपमा जुध्नुपर्ने राष्ट्रिय दायित्व बिर्सिएर गरिएको यस प्रकारको घटनाको हामी घोर भत्र्सना गर्दछौं ।” संसदमा विश्वासको मत गुमाएको अवस्थामा नैतिकताका आधारमा राजिनामा दिनुपर्नेमा ओली पुनः प्रधानमन्त्री पदमा नियुक्त हुनु र संविधानको धारा ७६(४) लाई बाइपास गरी धारा ७६(५) को आधारमा नयाँ सरकार बनाउन राष्ट्रपतिलाई सिफारीस गर्नु जस्ता कार्य शंकास्पद रहेको नेका चितवनले जनाएको छ ।
त्यस्तै नेका सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादी केन्द्र, जसपा र नेकपा एमाले माधव नेपाल समूह समेतका पार्टीको समर्थनमा १४९ जना सांसदहरूको दस्तखत सहित संसद सदस्य देउवाले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेकामा राष्ट्रपतिबाट दाबी अस्वीकार गरी संसद विघटन गर्नुले प्रधानमन्त्री र राष्ट्रपतिले निरंकुश र तानाशाह मार्ग हिँड्न खोजेको पुष्टि भएको पनि पार्टीले आरोप लगाएको छ ।