भरतपुर, ८ जेठ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि अस्पतालमा कोभिड-१९ बाहेक समस्या लिएर पुग्ने बिरामीको संख्या घट्न पुगेको छ । सोही कुरालाई मध्यनजर गर्दै चितवन च्याम्बर अफ कमर्स (सीसीसी)ले नागरिकका लागि परामर्शमूलक कार्यक्रम प्रत्येक घरमा डाक्टर छौं घरमा नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । निषेधाज्ञा तथा महामारीका कारण बिरामी अस्पतालसम्म सेवा लिन पुग्ने अवस्था नभएको भन्दै सीसीसीले उनीहरूलाई टेलिफोनमार्फत चिकित्सकहरूसँग कुराकानी गराउने रेडियो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
च्याम्बर अफ कमर्सले शनिबार एक प्रेस नोट जारी गर्दै त्यसको जानकारी गराएको हो । “चितवनसहित देशैभर फैलिएको कोरोना महामारीबाट आमनागरिकले पाएको पीडाप्रति चितवन च्याम्बर अफ कमर्स निकै दुःखी र मर्माहित भएको छ”, प्रेस नोटमा भनिएको छ, “महामारीको समयमा कोभिड–१९ बाहेकका अन्य दीर्घरोगी पनि अस्पताल जान डराएर झनै बढी समस्यामा परेको प्रति च्याम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ ।”
सर्वसाधारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको संस्थाका अध्यक्ष दीर्घमान श्रेष्ठले बताए । “उपचार पाउनबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्न लागेका हौं”, अध्यक्ष श्रेष्ठले भने । कार्यक्रमका दौरान विज्ञ चिकित्सकसँग टेलिफोन संवाद गरेर नै सर्वसाधारणले आफ्नो स्वास्थ्यावस्थाका बारेमा सल्लाह लिन सक्ने श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा सहभागी भएवापत सर्वसाधारणलाई कुनै पनि शूल्क नलाग्ने कार्यक्रम संयोजक महेश तिवारीले प्रष्ट पारे । दैनिक रूपमा सञ्चालन गरिने कार्यक्रममा विभिन्न १५ जना विशेषज्ञ चिकित्सकसँग बिहान ८ देखि साँझ ५ बजेसम्म सर्वसाधारणले परामर्श लिन सक्ने तिवारीले जानकारी दिए । आवश्यक परेका खण्डमा बिरामीलाई अस्पतालसम्म पुर्याएर सहुलियतमा उपचार गराउने व्यवस्था गरिएको पनि उनले उल्लेख गरे । तिवारीका अनुसार कार्यक्रम विभिन्न स्थानीय रेडियो तथा एफ.एम.बाट प्रसारण गरिनेछ ।