विप्लव काफ्ले
भरतपुर, २२ साउन ।
भरतपुर महानगरपालिकाको मेयर पदमा पदबहाली भएपछि रेणु दाहालले महिला बिरामीलाई बहिरंग बिरामी दर्ता निःशुल्क गर्ने पहिलो निर्णय गरेकी छन् ।
आर्थिक अभावले उपचारमा प्रतिकुल प्रभाव नपरोस् भन्दै भरतपुर महानगरपालिकाको आन्तरीक स्रोतबाट बेहोर्ने गरी वार्षिक ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको मेयर रेणु दाहालले बताइन् । यो निःशुल्क सेवा भरतपुर अस्पतालबाट पाउनेछन् ।
भरतपुर अस्पतालमा वार्षिक १ लाख ९८ हजार जनाले बहिरंग सेवा लिने गरेको अनुमान छ । सो अस्पतालले बहिरंग बिरामी दर्ता ३० रुपैयाँ लिने गर्छ । “हामी जनताको पक्षमा काम गर्न आतुर छौँ”, उनले भनिन्, “यो पहिलो निर्णय हो, हामी अझै बढी लोकप्रिय काम गर्नेछौं ।
उपमेयर पार्वती शाहले पदभार ग्रहण गरेपछि मातृ शिशु खोप विस्तार गर्ने पहिलो निर्णय गरेकी छन् । पहुँच नपुगेका गर्भवती महिला तथा शिशु बालबालिकालाई विसिजी, डिपीटि, पोलियो विरुद्धका खोप, दादुरा रुवेला लगायत विभिन्न रोग विरुद्धको खोपहरुको विस्तार गर्ने गरी निर्णय भएको मेयर शाहले बताइन् ।
शहरी स्वास्थ्य केन्द्रबाट खोप सेवा र गाउँघर क्लिनिक सञ्चालन गर्ने बताइन् । स्वास्थ्य जीवन प्रवद्र्धन गर्न मेयर तथा उपमेयरले स्वास्थ्य सम्बन्धि दुई निर्णय गरेका हुन् ।
फोटोः प्रविन बराल र अनिल घिमिरे