भरतपुर, २२ साउन ।
मेयर पदमा आफ्ना उम्मेद्वार पराजित भएको नेकपा एमाले चितवनले भरतपुर महानगरमा पद तथा गोपनीयताको सपथ नै लिएन । १४ वडामा वाध्यक्ष जितेको एमालेका सबै जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।
‘मतपत्र च्यात्नेहरूसँगै उपस्थित भएर सपथ लिदा जनमतको अवमूल्यन हुने’ भन्दै नेकपा एमाले चितवनले आफ्ना निर्वाचित सबै प्रतिनिधिलाई सपथमा नपठाएको हो । “त्यहाँ मतपत्र च्यात्ने पनि आउलान्”, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले भने, “जिल्ला कमिटीले निर्णय गरेअनुसार हाम्रा साथीहरु सहभागी नभएका हुन् ।”
निर्वाचित भएको ३ दिनभित्र सपथ लिइसक्नुपर्ने कानूनी प्रावधान छ । त्यसोभए एमालेले अब के गर्छ त ? अध्यक्ष पोखरेल भन्छन्, “आजको समारोह बहिस्कार गरेका हौं, अनुकूल मिलाएर सपथ लिइनेछ ।” तर, लोकतन्त्रको उपहास गरेर जितेकाहरुसँगै सपथ लिएर मतको अवमूल्यन गर्न नचाहेको उनले बताए ।
नेकपा एमालेले भरतपुरमा ११ वडामा प्यानलसहित १४ वडाध्यक्ष र समग्रमा ६९ जनप्रतिनिधि जितेको छ । अब उनीहरुले शनिबार बेलुकिबाट ३ दिनभित्र सपथ लिनुपर्नेछ ।
शनिबार सम्पन्न अन्तिम मतपरिणामअनुसार एमाले उम्मेद्वार देवीप्रसाद ज्ञवाली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालसँग २०३ मतले पराजित भएका थिए ।
मतपत्र गन्दैगर्दा गत जेठ १४ गते कभर्डहलमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनःमतदान गर्न दिएको आदेशलाई सर्वोच्चले पनि सदर गरेपछि साउन २० गते पुनः मतदान गरिएको थियो ।