चितवन, ६ जेठ ।
कोभिड-१९ महामारीमा अग्रपंक्तिमा खटिनेहरूलाई चितवनका वरिष्ठ दन्त चिकित्सक डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपानेले सहयोग गरेका छन् । नारायणगढस्थित साईराम डेण्टल प्रा.लि.को तर्फबाट चिकित्सक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
साईराम डेण्टलले पाँच लाख रुपैया बराबरको अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, भाइजर, पीपीई र ग्लोब्स वितरण गरेको हो । केही मात्रामा भए पनि समस्यालाई हल गर्न सहज होस भनेर सहयोग गरेको डा. अजय न्यौपानेले बताए । सामाजिक दायित्व वहन गरेर विभिन्न निकायलाई निजी लगानीमा स्वास्थ्य सामग्री सहयोग गरिएको डा. न्यौपानेले जानकारी दिए । दम्पतिले भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्लाका क्रियाशील पत्रकारहरूका लागि मास्क, सेनिटाइजर, ग्लोब्स, जस्ता स्वास्थ्यसुरक्षाका सामग्री वितरण गरिएका हुन् ।
यस्तै उनीहरूले भरतपुर अस्पतालमा उपचाररत संक्रमितका लागि दश थान ठूलो अक्सिजन सिलिण्डर र स्वास्थ्यकर्मीका लागी एक सय थान पीपीई, पाँच कार्टुन मेडिकल पञ्जा समेत सहयोग गरेका हुन् । साईराम डेण्टलकी प्रबन्ध निर्देशक डा. सरु थापा न्यौपानेले कोरोना महामारी जस्तो विपद्का बेला प्रन्टलाइनरहरूलाई सुरक्षित रहेर काम गर्न सहज होस भनेर सहयोग गरेको बताइन् । कोरोना महामारीको पहिलो लहर सुरु हुँदा पनि उनीहरूले विपद्मा परेकाहरूलाई सहयोग गर्न सक्रिय रहेका थिए । यी दुईले गत वर्ष मात्रै करिब १७ लाख बराबरको सहयोग गरेका थिए ।