भरतपुर, ५ जेठ ।
बुधबार बिहानको भूकम्पपछि लमजुङमा साना ठूलासहित ५७ वटाभन्दा बढी परकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार ४ म्याग्निच्यूडमाथिका चारवटा र अरु त्यसभन्दा कम क्षमताका परकम्प गएका हुन् ।
चार म्याग्निच्यूडभन्दा माथिका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५.८, आठ बजेर १६ मिनेटमा ४, आठ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ का रहेका भूकम्प गएको केन्द्रले जनाएको छ ।
जिल्लामा अझै पनि भूकम्पको धक्का पटकपटक महसुस भइरहेको छ । पछिल्लोपटक भर्खरै ९:२४ बजे समेत धक्का महसुस भएको छ ।
पटकपटक भूकम्पको धक्का महसुस हुँदा यहाँका वासिन्दा त्रसित भएका छन् । उनीहरु कोरोना सङ्क्रमणको बेला पनि कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । सडकमा भीड बढ्दा कोरोनाको जोखिम बढेको छ ।