काठमाडौं, ५ जेठ ।
कोरोना महामारीको मौका छोपेर अक्सिजन सिलिन्डरमा कालोबजारी गर्ने तीनजना पक्राउ परेका छन् । अक्सिजन ग्यासको कृत्रिम अभाव सिर्जना गरेर बढी मूल्यमा बेचेको आरोपमा ललितपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–३ घर भई ललितपुरको सातदोबाटो बस्ने ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुरको हेटौँडा–६ घर भई लगनखेल बस्ने ४२ वर्षीय नवराज खनाल र धादिङको गल्छी–२ घर भई हाल ललितपुरको इमाडोल बस्ने ४२ वर्षीय रामशरण अधिकारी रहेका छन् ।
उनीहरूले अन्दाजी १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डर ४१ हजारमा बेचेका थिए । कालोबजारी भइरहेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले अक्सिजन ग्यास भरिराखेको एक थान सिलिन्डर, ४१ हजार रुपैयाँ नगद तथा ग्यास कम्पनीबाट ग्यास भरेको ४ थान रसिदसमेत बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
तिनै जनामाथि कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।