देवचुली, ४ जेठ ।
रजहरस्थित प्राकृतिक सामुदायिक अस्पतालमा उपचाररत कोभिड विरामीलाई उपचार सहयोग पुगोस् भन्दै गैर आवासीय नेपाल संघ मोजाम्बिक अफ्रिकाले दश थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । गैर आवासीय नेपाली संघ मोजाम्विककी अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले संकलन गरेको २ लाख ५ हजार रुपैयाँ बराबरको उक्त सामग्री अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो ।
अक्सिजनको अभावले धेरै नेपालीको अकालमै मृत्यु भएको खवरले पिरोलिएपछि थोरै भएपनि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरिएको अध्यक्ष पौडेलले बताइन् ।
दक्षिणी अफ्रिकाको मोजाम्विकमा नेपालीहरु करिव २५ जना मात्रै रहेका छन् । रजहर फारममा माईतीघर रहेकी पौडेल मोजाम्विकको एक वहुराष्ट्रिय कम्पनीको मार्केटिङ्ग प्रमुख थिइन् भने उनका श्रीमान अर्को कम्पनीका कन्ट्रि डिरेक्टर हुन् ।
एनआरएनए अफ्रिकाले `मातृभूमिमा अक्सिजन सहयोग अभियान´ थालनी गरि कैलाली, नेपालगञ्ज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्सा, नवलपरासी र नवलपुर गरि १० जिल्लालाई ४ सय ५० थान अक्सिजन ग्यास सिलिण्डर प्रदान गरेको छ ।
यस अभियान एनआरएनए दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाईमा अध्यक्ष पौडेलसहित नाइजेरियाका हिकमत थापा, कङ्गोका अमृत क्षेत्री, एनसिसिका वन्दना प्रजापति, वासुदेव घिमिरे, राजकुमार पाल्पाली वस्याल, प्रभा वस्याललगायत सक्रिय छन् ।
यसैविच अक्सिजन सिलिण्डर ग्रहण पश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले विश्वमै आफ्नै रोजगारी अनिश्चित भएको जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गर्नुभएकोमा एनआरएनए अफ्रिका टीमलाई धन्यवाद दिए ।