२९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरेकी छिन् ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन् । राष्ट्रपति भण्डारी शुक्रबार बिहान १०ः१५ बजे बैङ्ककतर्फ प्रस्थान गरेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, मन्त्रिगणलगायत उच्चअधिकारीले बिदाइ गरे ।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछिन् । शुक्रबार श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ । रासस