भरतपुर, २२ साउन ।
भरतपुर महानगरकाे नवनिर्वाचित स्थानीय जनप्रतिनिधिकाे सपथ नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गर्ने भएकाे छ ।
मतपत्र च्यात्नेहरूसँगै उपस्थित भएर सपथ लिदा जनमतकाे अवमूल्यन हुने भन्दै नेकपा एमाले चितवनले अाफ्ना निर्वाचित सबै प्रतिनिधिलाई सपथमा नपठाउने निर्णय गरेकाे हाे ।
“त्यहाँ मतपत्र च्यात्ने पनि अाउलान्”,एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पाेखरेलले भने, “हामी त्यहाँ उपस्थित हुन्नाैं, जिल्ला कमिटीले यही निर्णय गर्याे ।”
नेकपा एमालेले भरतपुरमा ११ वडामा प्यानलसहित १४ वडाध्यक्ष र समग्रमा ६९ जनप्रतिनिधि जितेकाे छ । निर्वाचित भएकाे ३ दिनभित्र सपथ लिइसक्नुपर्ने कानूनी प्रावधान छ ।
अाज ३ बजे जिल्ला समन्वय समिति चितवनकाे सभाहलमा अायाेजना गरिएकाे सपथ कार्यक्रम अहिले ५ बजेसम्म पनि सुरू नभएकाे सपथस्थल रहेका सहकर्मी विनाेदबाबु रिजालले जानकारी दिएका छन् ।