भरतपुर, २ जेठ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार ३ सय १६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै एन्टिजेन विधिबाट गरिएका परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा छन् भने बाँकी ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ७ सय १ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको कूल संख्या ४ लाख ५५ हजार २० पुगेको छ । यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ४५ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाएकाको सूचीमा सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको संक्रमितको शवको संख्यालाई समेत अद्यावधिक गरिएको हो । सोसँगै नेपालमा कूल मृतकको संख्या ५ हजार १ पुगेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ८ सय ८१, बाँकेमा १ सय ६०, रुपन्देहीमा ४ सय ३ तथा चितवनमा २ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, मन्त्रालयले भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६, कास्कीमा १ सय ७०, नवलपुरमा ५३, गोरखामा २३, धादिङमा ५१, तनहुँमा २२ र मकवानपुरमा १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरूमा झापामा २ सय, मोरङमा ३ सय ५२, सुनसरीमा ९१, पर्सामा ५७, धनुषामा १ सय ४२, महोत्तरीमा १ सय ११, सप्तरीमा १ सय ५३, र दाङमा ३ सय १९ जना संक्रमित थपिएका छन् । यस्तै सुर्खेतमा २ सय १५, कैलालीमा ५ सय २७ र कञ्चनपुरमा ३३ जना संक्रमित थपिएका छन् । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न ३६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल २७ लाख ७० हजार ९ सय ८० वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने पीसीआर विधिबाट १९ हजार ५ सय ३९ परीक्षण भएका छन् । अन्य ३ सय ४४ परीक्षण भने एन्टिजेन विधिबाट गरिएका हुन् । एन्टिजेन विधिको परीक्षण भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि हो ।
यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ । यो कूल संक्रमितको करिब ७५ प्रतिशत हो ।
मन्त्रालयका अनुसार हाल देशभर ३ सय ८० जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १ हजार ३ सय १३ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २ सय ३० जनाको भेण्टिलेटरमा तथा ५ सय ८४ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।