भरतपुर, २ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनमा १४ जना कोरोना संक्रमितको निधन भएको छ । यस्तै सोही अवधिमा यहाँका अस्पतालबाट ३९ जना निको भई घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा १, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ६ तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५ जनाको मृत्यु भएको हो । राप्ती नगरपालिकाका एक संक्रमितको भण्डारा अस्पतालमा मृत्यु भएको हो । यस्तै विपी कोइराला क्यान्सर अस्पतालमा पनि नवलपरासीका एक संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा ज्यान गुमाएका संक्रमित रुपन्देहीका हुन् । यस्तै, चितवन मेडिकल कलेजमा ज्यान गुमाएका संक्रमितहरूमध्ये २ जना गुल्मी, १ जना चितवन, १ जना लमजुङ, १ जना रुपन्देही र १ जना सर्लाहीका हुन् । कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएका संक्रमितहरूमध्ये एक जना रुपन्देहीका हुन् भने अन्य २–२ जना चितवन र नवलपरासीका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा १ सय ५०, चितवन मेडिकल कलेजमा १ सय ७७, कलेज अफ मेडिकल साइन्सेसमा १ सय १५, गुञ्जमान सिंह अस्पताल रत्ननगरमा एक तथा क्यान्सर अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको छ । पुष्पाञ्जली र नारायणी सामुदायिक अस्पतालमा पनि ३२ जना संक्रमितले उपचार गराइरहेका छन् । भरतपुर अस्पतालले कोभिड उपचारका लागि १ सय ६९, सीएमसी अस्पतालले २ सय ६०, सीएमएस अस्पतलाले २ सय तथा क्यान्सर अस्पतालले १ सय ३९ वटा बेड छुट्याएका छन् । गुञ्जमान सिंह अस्पतलाले पनि कोभिड बिरामीका लागि १० वटा शय्या छुट्याएको छ ।
भरतपुर महानगरपालिकाले १५ बेड, रत्ननगरले २८ बेड, राप्तीले २० बेड र कालिकाले १२ बेडको आइशोलेसन सेन्टर सुरु गरेका छन् । ती सबैमा शय्यामा अक्सिजनको पनि व्यवस्था गरिएको छ । यस्तै, माडीले ५ ओटा अक्सिजन सहित १० बेड क्षमताको आइशोलेसन सञ्चालनमा ल्याएको छ । खैरहनीले सञ्चालनमा ल्याएको १५ शय्याको आइशोलेसनमा ११ शय्यामा अक्सिजन समेत उपलब्ध गराइएको छ । यस्तै इच्छाकामना गाउँपालिकाले पनि १० वटा अक्सिजन सहितको २० बेडको आइशोलेसन सेन्टर स्थापना गरेको छ । हाल रत्ननगरको आइशोलेसनमा २ तथा राप्तीको आइशोलेसनमा ३ जना संक्रमित राखिएका छन् । यस्तै, इच्छाकामनामा दुई तथा कालिकामा एक जना संक्रमित राखिएका छन् ।
जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा कोभिड संक्रमितको उपचारका लागि ८ सय ९८ वटा बेड छुट्याइएका छन् । ती मध्ये ५ सय २ बेड बिरामीले भरिएका छन् । हाल जिल्लामा २ सय ५१ जना आइसीयु, ९६ जना एचडीयू तथा १५५ जना जेनरल बेडमा रहेका छन् । आइसीयुमा रहेकामध्ये ५० जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेका छन् ।