भरतपुर, १ जेठ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ हजार ४६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै एन्टिजेन विधिबाट गरिएका परीक्षणबाट १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १ लाख १ हजार ७ सय ७१ जना होम आइसोलेसनमा छन् भने बाँकी ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ६ सय ७५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको कूल संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ८७ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाएकाको सूचीमा सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको संक्रमितको शवको संख्यालाई समेत अद्यावधिक गरिएको हो । सोसँगै नेपालमा कूल मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार १ सय ४६, बाँकेमा ५ सय ५, रुपन्देहीमा ४ सय ९५ तथा चितवनमा १९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, मन्त्रालयले भक्तपुरमा ३ सय ४७, ललितपुरमा ४ सय ४४, कास्कीमा २ सय ९३, नवलपुरमा ३, गोरखामा ५९, धादिङमा ३८, तनहुँमा ८० र मकवानपुरमा १ सय ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरूमा झापामा १ सय ७३, मोरङमा ३ सय ५४, सुनसरीमा ९९, पर्सामा १ सय ४, धनुषामा १ सय १८, म्याग्दीमा १ सय ३ र दाङमा २ सय ७५ जना संक्रमित थपिएका छन् । यस्तै सुर्खेतमा १ सय ८५, कैलालीमा ४ सय ४३ र कञ्चनपुरमा १ सय ८४ जना संक्रमित थपिएका छन् । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न ३५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल २७ लाख ५१ हजार ४ सय ८१ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने पीसीआर विधिबाट १७ हजार ९ सय ७१ परीक्षण भएका छन् । अन्य ५ सय ७७ परीक्षण भने एन्टिजेन विधिबाट गरिएका हुन् । एन्टिजेन विधिको परीक्षण भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि हो ।
यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ । यो कूल संक्रमितको करिब ७४ प्रतिशत हो ।
मन्त्रालयका अनुसार हाल देशभर ३ सय ७० जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने १ हजार ३ सय ३१ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २ सय १९ जनाको भेण्टिलेटरमा तथा ५ सय ५४ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।