काठमाडौं, ३१ वैशाख ।
नेकपा एमालेका शीर्ष नेताहरुबीचको वार्ता भर्खरै सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच लामो समयदेखि देखिएको विवाद अन्त्यको प्रयासस्वरुप दुईपक्षबीच छलफल भएको थियो ।
छलफलमा पार्टीलाई एकतावद्ध बनाउने विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।
बैठकले जेठ २ गते अघिका कुरालाई आधार बनाएर छलफल गर्ने सहमति गरेकाे नेता भीम रावलले जानकारी दिए । त्यसका लागि कार्यदल बनाइने र कार्यदलमा काे-काे रहने भनेर नेताद्वय ओली र नेपालले टुङ्ग्याउने उनले बताए ।
शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकमा नेपाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए । त्यस्तै ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो ।
बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो । कार्यदलमा रहने भनिएका नेताहरुसहित आज वार्ता भएको हो ।