सिर्जन अविरल
त्यसपछि उसले मलाई आफ्नी स्वास्नी हो भन्ने कुरा नै बिर्सदै गयो । एकअर्काको संवेदनासँग बेखबर भएर बाँच्नुको निरसताले म दिन–प्रतिदिन जीवनको परिभाषा खोज्थेँ । क्षण–क्षणमा सोचाइका लहरहरू मनको एउटा कुनामा अल्झिन पुग्थे । सायद म यही संस्कारमा अनुबन्ध नभएकी भए सम्भवतः यति धेरै पीडा र अवसादहरूले जेलिने थिइनँ । मैले मेरो विगतलाई चटक्कै बिर्सेकी भने छैन । म आफूलाई प्रश्नशील बनाउँदै गइरहेझैँ लाग्छ ।
सम्बन्ध केवल सम्झौतामा हुर्कने रहेछ ! मनको भित्री कुनामा अतीतको ज्वारभाटा एकैचोटि उठेर आउँछ । साउनका आखिरी दिनहरू सकिने तरखरमा थिए । अब भदौ सुरू हुन्छ र त्यसपछि शरद…। कतिपय सम्झनाहरूले मात्र पनि मन उत्साहित हुँदोरहेछ । म चाहन्छु यो निरस समय छिटोभन्दा छिटो बितेर जाओस् । र, आओस् त्यो उत्सवको क्षण ।
‘प्रमिला !’ हठात् कसैको परिचित आवाजले मलाई गाढा निद्राबाट ब्युँझाएको अनुभूति भयो । मैले झ्याल खोलेर हेरेँ । हृदयको जस्तै बादल थियो आकाशमा । ताराहरू लुकेका थिए कतै । कतै केही देखिने सम्भावना थिएन । यो रात बितेका कयौं रातपछिको फरक रात यो समय स्मृतिमा रहेसम्मको आत्मीय समय र यो आवाज बारबार कानमा गुञ्जिरहने प्रिय आवाज..! मलाई कता–कता उसले बोलाएझैं लाग्यो । थाहा छैन यो कस्तो तन्द्रा हो ?
मलाई निद्राले पूरै छोडिसकेको थियो । सम्भवतः यस्तै एकान्तमा विगतका आत्मीय दिनहरू मनमा सलबलाउँदारहेछन् ।
कोठाको भित्तामा झुण्डिएको केही वर्ष अघिको पुरानो फोटोले मलाई विचलित तुल्याउन खोज्छ । लाग्छ म उसकी स्वास्नी हुँ भन्ने केवल यही एउटा प्रमाण बाँकी छ । कहिलेकता यही सम्बन्ध अतिसाह्रो दुखेर आउँछ । त्यो भिड मलाई मन पर्दैन, जुन दिनहुँ सडकमा देखिने गर्छ । मलाई आजकल हरेक समय कसैले बोलाइरहेको अनुभूति भइरहेछ । जसलाई मैले देखेकी छैन आजसम्म । पटक–पटक ब्युँझदा पनि पूरै नबित्ने ओसिलो रात मौन जिन्दगीमा अरू मौनता सिवाय केही थप्दैन । मभित्र बाँच्ने इच्छा छैन । तर, मरिहाल्न सक्दिनँ । थाहा छैन म मृत्युबाट हारेकी हुँ या त मृत्यु मबाट हारिरहेको हो ! सम्बन्ध सिर्फ एउटा नाटकपूर्ण सम्झौता, अन्तरमनमा आघातहरू जुन क्षणक्षणमा पोल्दै र डस्दै जान्छन् । निरसता र निरूद्देश्यको बीचमा थालनी भएको कुनै यात्राजस्तो म अहिले निरर्थक जिन्दगी बाँचिरहेकी छु । सम्बन्धहरू बरफको ढिक्का जस्तै क्रमशः पग्लिएर निख्रिएझैँ लाग्छ । एकान्तमा सोच्छु, यही यात्रामा जिन्दगी कसरी अर्थपूर्ण हुन सक्छ ?
सम्बन्ध चिसिन समय नलाग्दोरहेछ ! हो, वास्तविक जीवनको एउटा मोडमा पुगेपछि मेरो भावुकता भंग भएर गयो । एकान्तमा सोच्छु, साँच्चै प्रेमको नाममा जिन्दगीका सुन्दर भ्रमहरु सल्काएर बाँच्न कति सिपालु हुँदोरहेछ मान्छे..। हरेक बिहान घरबाट निस्कने ऊ साँझमा फर्किंदा कहिल्यै लोग्नेजस्तो भएर आएन । बरू नाचिरह्यो आँखामा कहिल्यै नदेखेको अनुहार । गुञ्जिरह्यो कानमा उही प्रिय आवाज ।
आजको बिहान सधैंको भन्दा फरक रह्यो । रातभरको अनिद्रा र आलस्यताले जिउ गह्रुँगो भएको महसुस भयो । मेरो इच्छा हो वा होइन मलाई नै थाहा छैन । ऊ सन्तान चाहन्छ मसँग । यो परिवेश र मेरो विगतलाई सँगै राखेर हेर्न खोज्छु । म कतै जीवनको संगति भेट्न सक्दिनँ । धमिलो विगतसँगै मेरा लागि अहिले टड्कारो रूपमा उसको भविष्य दुख्दै छ र दुख्दै छ एकप्रकारको अभाव । तत्काल सोच्न थाल्छु, सम्बन्धमा बढ्दै गएको दूरी । क्रमशः थाहै नपाई साँघुरो घेराभित्र थुनिँदै गएको परिवेश र खुम्चिँदै गएका सपनाहरु ।
सम्बन्ध चिसिन समय नलाग्दो रहेछ । हो, वास्तविक जीवनको एउटा मोडमा पुगिसकेपछि मेरो भावुकता भंग भएर गयो । अहिले कोठामा छरपस्ट भएर छरिएका थुप्रै सामानहरु छन् । यी सामानहरू मिलाउन बाँकी थियो । मलाई अफिस जान हतार भसकेको छ । मेरा हरेक कुरामा शंका गर्ने पुरानो युगको पुरूष झैं उभिएको छ ऊ । ऊ चाहन्छ म अफिस पनि नजाओस् । मलाई कसैले फोन नगरोस् । म यहाँ आएदेखि नै बाँधिएकी छु । मेरा हरेक रहरहरू बाँधिएका छन् । घरबाट अफिस र फेरि अफिसबाट घर । मेरो यात्रा यत्ति मै सीमित छ ।
एकाएक उसको स्वभावमा आउने परिवर्तनले म अप्ठ्यारो महसुस गर्छु । म कयौं महिनादेखि आफ्ना असमर्थताहरूलाई चुपचाप छोप्दै आएकी छु । हेरिरहेकी छु उसको अनुहार । खै किन हो म उसको अनुहारमा लोग्नेको भाव पटक्कै देख्न सकिरहेकी छैन । कहिलेकाहीं अचानक अनौठा प्रश्नहरू मनभरि खेल्न थाल्छन् । यसबीचमा समय थुप्रै बितिसकेको छ । जीवनको मलिन प्रकाशमा मैले उसँगै जोडिएर प्राप्त गरेको कुरा के हो त्यो अझै यकिन हुन सकेन । किन सकेन उसले मलाई कहिल्यै आत्मीयता पस्किन ? आफूभित्रको गह्रुँगोपनलाई हल्का पार्न मैले निकै प्रयत्न गरें, यद्यपि यी सबै व्यर्थ रहे…।
म जिन्दगीको जुन बिन्दुबाट बग्दैबग्दै यहाँसम्म आएँ, यसको न त उद्गम भेट्छु म न त गन्तव्य नै । उसको आँखामा मैले भेटिन कहिल्यै आफ्नोपन । आज घाम डुब्ने बेला भइसक्दा पनि दिनभर घाम देखिएन । मौसम लामै झरि हाल्ने तयारीमा थियो । मभित्र घनघोर तुफान चलिरहेको थियो । मलाई प्रत्येक पल एक युगजत्तिकै लामो लाग्न थाल्यो ।
उसले पुलुक्क मतिर हे¥यो । मैले अनुहार अन्तै घुमाएँ । उसलाई पैसा चाहिन्छ । तर, मैले जागिर छोडोस् भन्छ । उसलाई सम्बन्ध चाहिन्छ । तर, शंका गरिरहन्छ। म उसको सन्तानको आमा हुँदै छु। आज उसको अनुहारमा हाँसो नाचेको छ । मलाई ऊ हाँसेको कत्ति मन पर्दैन। उसले मलाई कैदी बनाएर फलामे ढोका बाहिर कुनै जेलर हाँसेझैँ लाग्छ।
म धेरै दिनदेखि उसलाई केही भन्न खोजिरहेकी थिएँ । त्यो अनुकूल समय जुट्न सकिरहेको थिएन । जीवनको एउटा बिडम्वना म अनौठोसँग झेल्दै छु । ऊ कहिल्यै मेरो स्वतन्त्रता स्वीकार्न चाहन्न । जसले मलाई जीवनमा कहिल्यै बुझ्नै चाहेन म उसैको समीपमा छु । जो हरदम मेरो आँखामा छ र कानमा गुञ्जिरहन्छ उबाट निकै पर छु । म चाहन्थेँ त्यही लोग्नेबाट सन्तान नजन्मियोस् जो मलाई बुझ्नै सक्दैन । हरदम शंका र घृणाले हेरिरहन्छ । बाध्यतावस सामाजिक सम्झौतामा टिकेको सम्बन्धले मलाई कहिल्यै खुसी दिएन । आफ्नो सन्तान जन्माएर मलाई कमजोर बनाएपछि उसले एकदिन पुरूषत्वको अभिमान देखाउने छ । सायद म भावावेशमा आएँ भने अवश्य भन्ने छु, यो सन्तान तिम्रो हो भन्ने के प्रमाण छ ? हरेक बाबुहरू विश्वास हुन् र आमाहरू सत्य । तिमीले हरेक बिहान कोर्ने लक्ष्मण रेखामा विचार र प्रेम बाँधिन सक्दैन पुरूष ।
एकान्तमा सोच्छु–हामी एकदिन अलग हुने कुरा निश्चित छ । मैले जन्माएकी छोरीले बुझ्नेछे, आफैसँग संघर्ष गर्न जन्मिएको हो, हरेक मान्छे । र, उसलाई बुझाउनेछु–सम्बन्धका नदीहरु फाटिसकेपछि किनारहरू जोडिँदैनन् । नर्मदाले एकदिन बुझ्नेछे । हामी उस्तै प्रकृतिका नदी हौँ, मात्र आकार फरक छ । नदीहरू जसका किनारा सधैं चिसा हुन्छन् ।
अहिले एकाएक मलाई कताकता दुखेको महसुस भयो । उसले मलाई निकैबेर नियालेर हे¥यो । ‘छि ! के हे¥या यसरी कहिल्यै नदेख्याजस्तो !’ मैले आज झर्किएर बोलें । म बुझ्थें अब उसको व्यवहारमात्र होइन हेराइमा पनि भारी परिवर्तन देखिँदै गएको छ । म बिस्तारै सिथिल बन्दै गएँ । समयले मलाई झनझन कठोर बनाउँदै लग्यो । ऊ अर्थात छोरी नर्मदाले एकदिन पढ्नेछे मलाई र बुझ्नेछे, जीवनभर दुखिरहने मभित्रको अभाव । बुझ्नेछे उसको बाबुलाई । जो बाबुभन्दा बढी एउटा लोग्ने मान्छे हो ।
केवल विगत सम्झनु शिवाय मसँग अरू कुनै उपाय थिएन । उसले मसँग कहिल्यै प्रष्ट भनेन । तर, पनि म उसका सबै भावहरू बुझ्थेँ । म जागिर खान चाहन्थेँ तर ऊ त्यो मन पराउँदैनथ्यो । मलाई जीवनमा हरेक कुराको अभाव मात्र महसुस हुन थाल्यो । यही अभावलाई कम गर्न म कतै जोडिन चाहन्थेँ । यही क्रममा मेरो जागिर सुरू भयो । उसको अनिच्छाकै कारण परिस्थितिवश हामीबीचको दूरी बढ्दै गयो । मैले जागिर सुरूगरेदेखि ऊ मसँग त्यति खुलेन । त्यसपछिका दिन त हाम्रो सम्बन्ध एकप्रकारले समाप्त नै भयो ।
कहिले त लाग्छ, म नबाँच्नुपर्ने एउटा जिन्दगी बाँचिरहेकी छु । नभोग्नुपर्ने एउटा अव्यक्त पीडा भोगिरहेकी छु । सोच्दै छु–हरेक व्यक्तिलाई स्वयंमा बुझ्न गाह्रो हुँदोरहेछ । जे मेरो इच्छा नै होइन त्यो गरिरहेकी छु । भनौं, मैले आफ्नो इच्छा मारिरहेकी छु । मलाई थाहा छ, मेरै कारणले खुसी बनाउनुपर्नेलाई पल–पलमा दुःखी बनाइरहेकी छु ।
‘म जान्छु’, मैले विस्तारै बोलेँ ।
उसले कुनै जवाफ दिएन । र, सोधेन पनि म कहाँ जान चाहेकी हुँ ? मात्र हेरिरह्यो । सायद उसले बुझेको थियो–मैले चाहेको स्वतन्त्रता, म रमाउने परको आँगन । त्यहाँसम्म पुग्न एउटा लामो दूरी त थियो । तर, उसले पढिसकेको थियो–त्यो दूरी केही होइन जुन मैले कतै लेखेकी थिएँ ।
उसको आँखामा प्रश्न छ, अहिले तर मुखमा ल्याएन । यस्ता कयौं प्रश्न मभित्र थिए । उसँग जोडिएको पहिलो रातदेखि नै । तर, उसले कहिल्यै सोधेन । किनकि उसले मलाई कहिल्यै आफ्नो ठानेन । जसले आफ्नै ठान्थ्यो, म चाहेर पनि त्याहाँ पुग्नै सकिनँ । मलाई एकदिन जानु छ त्यहाँ र समाप्त गर्नु छ त्यो दूरी ।