भरतपुर, ३० वैशाख
चितवन प्रशासनले जिल्लामा निषेधाज्ञा थप गरेको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना संक्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थपेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । अब यहाँको निषेधाज्ञा जेठ १३ गते राति १२ बजेसम्म जारी रहनेछ ।
“आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा थपिने भएको छ”, प्रमुख जिल्ला अधिकारी लामिछानेले कायाकैरनसँग टेलिफोनमा भने, “के गर्न पाइने के नपाइने विस्तृतमा जारी गरिएको छ ।” निषेधाज्ञा बढाउन चौतर्फी सुझाव आएकोले यो निर्णय गरिएको उनले बताए ।
दोस्रो चरणको निषेधाज्ञामा थप कडाइ गरिएको छ । त्यसका लागि नयाँ आदेशमा प्रतिबन्धहरूमा थप कडाइ गरिएको छ । विवाह, ब्रतबन्ध जस्ता समारोहमा १० जनासम्म मात्रै सहभागी हुन दिइने भएको छ ।
यसअघि यो संख्या २५ बाट घटाएर १५ मा सीमित गरिएको थियो । त्यस्तै अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्न भनिएको छ । त्यस्तै वाणिज्य बैंकहरूलाई साताको तीन दिन मात्रै खोल्न दिइने भएको छ । आइतबार, मंगलबार र बिहीबार मात्रै ती बैंक खोल्न दिइने भएको छ । त्यहाँ काम गर्नेहरूलाई कार्यालय प्रमुखले प्रमाणित गरेको पत्र र परिचय पत्र लिएर मात्र आउजाउ गर्न भनिएको छ ।
अत्यावश्यक खाद्यान्न, तरकारी, औषधिजस्ताबाहेक अरु बिहान ६ देखि ९ बजेसम्म मात्रै खरिद बिक्री गर्न पाइने भएको छ । त्यसबाहेक आवश्यक खानेकुरा आइतबार, मंगलबार र बिहीबार मात्रै किन्न पाइने भएको छ ।
“पहिलो चरणमा बन्द गर्न भनिएका सबै क्षेत्रसँगै केही थप प्रतिबन्धहरू पनि आउन सक्छन्”, उनले भने, “हामी सबैलाई अनुरोध गर्छौँ कि कोरोनाविरुद्ध लड्न सबै घरमै बसिदिनुहोस् ।”
पहिलो चरणको निषेधाज्ञाले संक्रमण फैलन नदिन कति योगदान गर्यो भन्ने अबको दुई सातामा देखिने अपेक्षा गरिएको उनले बताए ।
कोरोनाको दोस्रो लहर मच्चिन थालेपछि चितवन प्रशासनले वैशाख १६ गते मध्यराति १२ बजेबाट १५ दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । सो अवधि भोलि ३१ वैशाख राति १२ बजे सकिने छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश पढ्नुहोस् :