भरतपुर, ३० वैशाख ।
नेपालमा कोरोना भाइरसले ल्याएको संकटबारे अमेरिकी सिनेटमा छलफल भएको छ । अमेरिकी सिनेट अन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार यसबारे छलफल भएको हो ।
कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेस्पोन्स’बारेको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपालबारे जिज्ञासा राखेका थिए ।
उनले नेपालको करिब तीन करोड जनसंख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगबारे चर्चा गरेका थिए । क्रिसले नेपालमा स्वास्थ्य सामग्री निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन् नाजुक भएको भन्दै चिन्ता जनाएका थिए ।
कोभिड महामारीबारे युएसएआइडीका वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको बताउँदै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण देखिएको बताइन् । यो दर उच्च भएको भन्दै उनले चिन्ता जनाइन् । कोन्डयाकले नेपाललाई अतिरिक्त सहायता दिन योजना बनाइरहेको सिनेटमा बताइन्।
अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएको भन्दै खुशी प्रकट गरेका छन्। अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतको भन्दा महत्वपूर्ण हुने उनले बताए।
अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले सहयोग अपिल गर्दै राष्ट्रपति जो वाइडेन प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् ।
उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरू क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई नेपालको पछिल्लो अवस्थाबारे जानकारी दिँदै सहयोगका लागि संघीय सरकारसँग पहल गरेको जानकारी दिएका छन् ।
अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्न स्वास्थ्य उपकरण दिइरहेको छ । एक वर्षयता युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ । डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग दिइसकेको छ ।