केशव लम्साल
लेखकःडा. प्रकाशचन्द्र लोहनी
विधा ः लेखसंग्रह
प्रकाशक ः ऐश्वर्य पब्लीकेशन
पृष्ठ ः २८४
मूल्य रु. ३५०
कृति साहित्यिक होस् या गैरसाहित्यिक, जब प्रचारप्रसार गरिन्छ तब ती कृतिले सामाजिक मूल्य प्राप्त गर्दछन् । गैरसाहित्यिक कृतिमा पनि लेखकले आफ्ना व्यक्तिगत भावनाहरु मात्रै थोपरेका हुँदैनन्, समयसापेक्ष विषयवस्तुलाई आफ्ना कृतिमा समावेश गरेका हुन्छन् । समाजका हरेक वर्गसँग एउटा लेखकले साक्षात्कार गर्दै सामाजिक जनजीवनको विश्वदृष्टि अभिव्यक्त गर्दछन् ।
लेखकले कृतिमा ढालेको विषय समाज बुझ्ने आधार स्तम्भ हो । त्यसैले त साहित्यको समाजशास्त्रमा कृतिलाई समाज बुझ्ने गतिलो आधार मानिएको छ । सतसठ्ठीवटा लेखहरुको संग्रह ‘राष्ट्रवादी चिन्तनको आयामहरु’ डा. प्रकाशचन्द्र लोहनीको बहुआयामिक कृति हो । थुप्रै पटक मन्त्री बनी देशको सामाजिक, राजनीतिक, आर्थिक, प्रजातन्त्रिक मूल्य र मान्यतालाई नजिकबाट साक्षत्कार गरेका डा. लोहनीले सोही विषयवस्तुको सेरोफेरोमा यस कृतिको अनावरण गरेका छन् । राजनीति, आर्थिक, जलस्रोत, पराराष्ट्र र पुनर्निर्माण गरी ५ खण्डमा देशको सामाजिक संरचनालाई विभाजन गरी शान्ति, न्याय र समृद्धिको युग सुरु भएको तथ्यलाई लोहनीले यस पुस्तकमार्फत प्रस्तुत गरेका छन् । राजनितिको सन्दर्भमा नेपाल कुन अवस्थामा पुगेको छ र नेपाली जनताले सहज जीवन भोग्न किन पाइरहेका छैनन् भन्ने कुराको चिरफार यस कृतिले गरेको छ ।
राज्यले जनताप्रति कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरालाई प्रमुखताका साथ उठाउनु नै लोहनीको कृतिगत विशेषता हो । राष्ट्रवादी बन्नका लागि नेता र जनतामा कस्ता गुण हुनुपर्छ र देशलाई उनीहरुले कसरी अगाडि लैजान सक्छन् भन्ने गहिरो चिन्तनलाई लोहनी यसरी प्रस्तुत गर्छन् :
राष्ट्रवादीहरु विस्तारवादी हुँदैनन् । हामी नेपालको रक्षा गर्न जस्तोसुकै बलिदान गर्न पनि तयार रहनेछौं । तर, अरु देश र क्षेत्रमा हस्तक्षेप गर्दैनौं । हामी बाँच र बाँच्न देउको सिद्धान्तमा विश्वास गर्दछौं । (पृष्ठ ३, हामी राष्ट्रवादी)
लोहनीमा राष्ट्रवादी चिन्तन सशक्त छ । उनले राष्ट्रवादी चिन्तनलाई सशक्त दर्शनका रुपमा यस पुस्तक मार्फत प्रस्तुत गरेका छन् । मन्त्री भइसकेका र देशको राजनीतिलाई नजिकबाट नियालेका डा. लोहनीले प्रदेश संरचनाका कुरादेखि मधेस आन्दोलन र त्यसपछिको भोलिको राजनीतिक भविष्य कता जाँदैछ भन्ने भविष्वाणी गर्नसमेत चुकेका छैनन् । संविधान संशोधनमा राप्रपा पार्टीको दृष्टिकोण कस्तो थियो भन्ने कुराकोे आफ्नो चिन्तन यसै कृतिका माध्यमबाट लोहनीले प्रस्तुत गरेका छन् । कांग्रेस, माओवादीले परिवर्तन गर्न खोजेको तर अन्य पार्टीलाई बेवास्ता गरी सल्लाह नगरेको तीतो यथार्थलाई लोहनीले चिरफार गर्न खोजेका छन् । अन्य पार्टीको नेतृत्वको तुलना राप्रपाको कार्यदिशा पनि गलत छैन भन्ने दस्तावेज प्रस्तुत गर्ने क्रममा लोहनी यसरी लेख्छन्ः
आउँदा दिनहरुमा यो यर्थाथलाई बुझेर जनता राष्ट्रियता र प्रजातन्त्रको पक्षमा कति दह्रो तरिकाले इमान्दारितापूर्वक हामी आवाज उठाउन सक्छौं र पार्टीलाई विधि प्रक्रियाअनुसार सबैलाई समेटेर कति अगाडि बढ्न सक्छौं भन्ने बुँदामा राप्रपाको सफलता अल्झिएको छ । (पृष्ठ १०१, राप्रपाको कार्यदिशा)
राष्ट्रवादी चिन्तनका आयामहरु राप्रपाको गुणगानमा आधारित कृति भने पक्कै होइन । भोलिको सम्मुनत देश निर्माणका लागि राप्रपाले खेल्ने सकरात्मक संकेत मात्रै हो । अराजकताबाट ग्रसित प्रजातन्त्र भोगिरहेका नेपाली जनताले टिकापुरको घटनालाई सहर्ष स्वीकार र्गनपर्ने बाध्यात्मक विश्व दृष्टि यस कृतिले बोकेको महत्वपूर्ण पाटो हो । देशको आर्थिक पक्ष कुन मोडमा पुगेको छ र अबको बाटो कतातिर जानुपर्छ भन्ने कुराको बोध यस कृतिले उठाएको छ । सरकारी ढुकुटीमा रकम भएपनि विकास निर्माणका कार्यमा खर्च नभएर रकम फ्रीज भएको व्यंगात्मक टिप्पणी गर्दै लोहनीले कहाँ गयो विकास ? भनेर प्रश्न गरेका छन् ।
हरेक बजेट अगाडि सरकारले गरेको हितोन्मुख तथा निजी क्षेत्रमैत्री बजेट आउने र विकास आयोजनाको पैसा खर्च मुसलधारे पानी पर्ने असार नपर्खेर घाम लाग्ने महिनामै गर्ने अठोट पनि गर्छ । यी भावना र निजी बजेट व्यक्तत्वमा पनि आउँछन् तर व्यवहारमा लागू हुँदैन । यो नेपालीको अर्थ व्यवस्थाको दीर्घकालीन रोग हो । (पृष्ठ १४२, कहाँ गयो विकास)
लोहनीका विचार राप्रपाको मियोमा घुमेका छैनन् । उनका चिन्तनहरुले समग्र राष्ट्रहितको लागि एक नयाँ खाका भने अवश्य कोरेका छन् । जलस्रोतको धनी देश भनेर सम्मान ओढेका नेपाली जनताले उज्यालोमा बाँच्न पाएका छन् त ? भन्ने प्रश्न गर्दै विद्युत् सम्झौताका विचारणीय पक्षहरुलाई पनि लोहनीले यस कृतिमा उठाएका छन् । विद्युत् व्यापार सम्झौता नेपाल भारतबीच सन् १९९७ मा भएको हो । तर, त्यो सम्झौता संसद्मा पेश भएन र भारतीय नेतृत्वले नेपालको विद्युत् सम्झौतालाई उपेक्षा गरेको खुलासा लोहनीले गरेका छन् । नेपाली जनता स्वतन्त्र हुन् र आफैमा स्वाभिमानी छन् भन्ने कुराको एकातिर प्रंशसा गर्दै नाकाबन्दीले पारेको नकारात्मक असरको विरोध गर्न अर्कातिर लोहनी तत्पर रहेका छन् । सार्कको नियमविपरीत भारतले नेपालमाथि गरेको नाकाबन्दीबाट नेपाली जनताले आंशका र चिन्ताको सूत्रपात गरेको कुरा प्रस्तुत कृतिले यसरी उजागर गरेको छ ।
उपनिवेशवादी युगको प्रभाव क्षेत्र सिद्धान्तमा मात्र भर नगरेका २१ औं शताब्दीका मान्तयताहरु आपसी हित र सरोकार पहिचान गरी दबाब र नाकाबन्दी छोडेर सहकार्यबाट अघि जाने नयाँ कार्यनीति भारतले लिन अनिवार्य भएको छ । (पृष्ठ २५०, नाकाबन्दी ः सार्क अवधारणामै प्रहार)
राष्ट्रवादी चिन्तनका आयामहरुभित्र परराष्ट्र नीति र नेपाली राजनीतिक क्षेत्रलाई डा. लोहनीले समेट्ने प्रयास गरेका छन् । भारतले नेपालमाथि लगाएको नाकाबन्दी सार्क अवधारणामै गलत सावित भएको कुरालाई यस कृतिले गम्भीररुपमा उठान गरेका छन् । वि.सं.२०७१ सालमा विनाशकारी भूकम्पबाट धनजन गुमाउन बाध्य नेपाली जनतालाई कुनै किसिमको राहत नपुगेको यथार्थलाई यस पुस्तकले प्रस्तुत गरेको छ । भूकम्पले तहसनहस बनाएको सामाजिक सांस्कृतिक संरचना एवं पीडित व्यक्तिहरुलाई देश विदेशका संघसंस्था र व्यक्तिहरुबाट आएको राहतजन्य सामग्री पनि सरकारले बाँड्न नसकेको कुरा यस कृतिले उजागर गरेको छ । पीडितहरुको लागि भनेर आएको चलअचल सम्पत्तिमाथि गिद्घे नजर राख्ने नेतालाई व्यंग्यात्मक वचनवाण पनि यस कृतिले प्रहार गरेको छ ।
महाभूकम्पको आजको अनुभवबाट अब जनतामा सरकार पुग्न स्थानीय तहको चुनाव गरी स्थानीय सरकार निर्माण गर्नु जनताप्रतिको जिम्मेवारी हो । महाभूकम्पले हामी नेपालीबीच एकता मात्र नभई राष्ट्रनिर्माणमा नयाँ चेतनाको साङ्लो बढाउन अगाडि पुग्दछ ।(पृष्ठ २६४, महाभूकम्पको सेरोफेरो)
लोहनीले प्रस्तुत लेख सङ्ग्रहभित्र राजनीति, आर्थिकलगायतका जुनसुकै नेताहरुले गुमाएको ‘स्व’ र त्यसबाट समाजमा भएको उपहासको सन्दर्भलाई यस कृतिमा प्रस्तुत गरेका छन् । आफूले बाँचेका सामाजिक, सांस्कृतिक संरचना र विदेशी मुलुकले नेपालमाथि लगाएको वक्र दृष्टिलाई यस पुस्तकमा लोहनीले देखाएका छन् । भोलिको देशको अवस्था कता जाँदैछ भन्ने कुरा राम्ररी बुझेका लोहनीले नेपाली राजनीतिलाई विदेशी राजनीतिसँग जोडेर यहाँको विकासलाई अगाडि लैजान सक्ने पूर्वाधारको संकेतलाई देखाउन खोजेका छ ।
पूर्वीय दर्शनसँगको निकट रहेर लेखकले नेपाली समाज एवं सरकार नै सुधारको बाटोमा जान्छ भन्ने यथार्थलाई प्रस्तुत गरिएका छन् । ज्ञान सिर्जनाका अग्रणी व्यक्ति डा. लोहनीले यस कृतिमार्फत राष्ट्रमाथि जुन चिन्तन प्रस्तुत गरेका छन्, त्यो उनको प्रशंसनीय कार्य हो । लोहनीको किताब लेख्ने रहर एवं प्रयास आफैमा उल्लेखनीय कार्य हो । तर, किताब पाठकमाझ आइसक्दा पाठकले खाजेका नयाँ ज्ञान र विषयवस्तुलाई लोहनीले न्याय दिन सकेका छैनन् । यस पुस्तकमा प्रस्तुत गरिएका सबै लेखहरु पुरानै हुन्, जो पहिला नै विभिन्न राष्ट्रिय पत्रिकाहरुमा छापिइसकेका छन् । नयाँ ज्ञानको खोजी गरी किताब पढ्ने पाठकलाई यस पुस्तकले खुसी दिन सकेको छैन ।
पुरानो लेखहरुको संग्रह राख्नुको सट्टा नयाँ विषयवस्तु र विभिन्न शीर्षकमा पुस्तक तयार गर्न सकिन्थ्यो । तर, त्यो कुरालाई लोहनीले यस कृतिमा थाती राखेका छन् । समग्रमा देशको राजनीतिले कुन रुपको बाटो चयन गर्दै छ भन्ने कुरालाई पुस्तकमा समेटिएको छ । एउटा व्यक्ति कसरी बहुआयामिक बन्न सक्छ भन्ने सन्देशलाई यस पुस्तकमा अनुभूति गर्न सकिन्छ ।