आमा
छातीभित्र उम्रिएको आकांक्षा
आफ्नै पैतालाले कुल्चँदै सपनाको रङ्गीन फूल
बोकेर पिठ्युँमा परम्पराको पुरातन भारी
चढेकी हुन् आमाले जीवनको पहाड ।
आधा पेटमै
अघाएको अभिनय गर्दै
मेटेकी हुन् सन्तानको भोक
आफ्नै इच्छाको चिहानमा
बनेर आफैँ मलामी
सहिद बनेको अलिखित इतिहास
अझ ताजै छ मुटुमा ।
घमण्ड बोकेर छातीमा
उभिन्छ पुरुष-सत्ताको संरचना
जति पखाले पनि जाँदैन अहङ्कारको मैलो
उम्लिएकै हुन्छ छातीभित्र क्रोधको ज्वाला ।
बन्न खोजेर घरको खाँबो
हर्दम बोकेकै हुन्छिन्-
जिम्मेवारी नामको गह्रौं भारी,
पिएर आँसुको भल
मेटेकी हुन्छिन् आमाले तिर्खा
डुबेर बाँचेको पसिनाको कुवा
अरूले देख्नुअगावै आमा
मुस्कुराउँछिन् एक चिम्टी विश्वास ।
स्वर्ग जस्तो ठानेर
घरभित्रकै जेलखाना
कर्तव्य मानेरै चुलोको चौघेरा,
सहेर दमनको श्रृङ्खला
हाँसेकी हुन् आमाले एक ओठ हाँसो
चालेकी हुन् सङ्घर्षको पाइला
र,
हाँकेकी हुन् सम्बन्धको रथ ।
मुटुभित्र टुसाएको
चाहनाको कलिलो फूल
फक्रन नपाउँदै पुरिएको हो कर्तव्यबोधको पहिरोले
आकांक्षाका आँखाहरूले
नियाले पनि रहरको राजमार्ग
हिँड्न नपाउँदै बाँधिएकी हुन् — संस्कारको हत्कडीबाट ।
असमानता र अन्यायका विरुद्ध
बाल्नै खोजे पनि क्रान्तिको आगो
निभ्दो रहेछ पुरुष-सत्ताको हुन्डरीमा
स्थापित गर्न खोजे पनि न्यायको नजिर
कठघरामा अपहरित भएकै हुन्छ – निरीह स्वतन्त्रता ।
जवान समय
सुर्कन्छ पाखुरा
र, बोकेर अभावको हतियार
रेट्न खोजेकै हुन्छ -विवशताको घाँटी
कतिन्जेल उभिनु सतिसाल
सुरक्षित रहला कहिलेसम्म सुत्केरी घाम,
निर्दयी र नकच्चरो साँझ
आमाको अस्मितामाथि
बोल्न खोज्छ धावा
किमार्थ फुट्नु अघि धैर्यको बाँध
रेट्नुपर्छ उत्साहको सारङ्गी
गरेरै बारुदी हमला
लगाउनु पर्छ निष्ठाको टेको ।
विवेकको दैलोमा
जबसम्म बल्दैन ममताको दियो
पग्लँदैन छातीबाट –
जहिलेसम्म संवेदनाको हिउँ
तबसम्म —
जति लेखून् निरर्थक हुन्छ
लेखिन बाँकी समानताको गाथा ।
थाहा नगरपालिका- ३ मकवानपुर