काठमाडौँ, २७ वैशाख । प्रतिनिधिसभामा विश्वास गुमाएपछि प्रधानमन्त्री केपी ओली कामचलाउ भएका छन् । नेपालको संविधानको धारा १०० को ३ अनुसार अब प्रधानमन्त्री पदमुक्त भएका छन्। संविधानकाे धारा १०० (३) काे उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ ।
अब प्रधानमन्त्री ओली स्वतः कामचलाउ हैसियतमा रहने र संविधानअनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
सरकार गठनका लागि आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गरिनुपर्ने बताएका थिए।
धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ।
धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्न सक्ने अनुमानका बीच देउवा र दाहालले त्यस्तो माग गरेको हुन सक्छ।
धारा ७६ (३) मा संयुक्त सरकार बन्न नसकेमा वा संयुक्त सरकारको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।
सो व्यवस्थानुसार सरकार बन्ने अवस्था आयो भने संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको नेताको रूपमा फेरि ओली प्रधानमन्त्री नियुक्त हुन सक्नेछन्।
माथिका दुवै अवस्थामा बनेको सरकारले संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ।