काठमाडौँ, २७ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्मा अस्वीकृत भएको हो ।
ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा कूल १ सय २४ मत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले दिएका हुन् ।
यस्तै, १५ वटा मत भने तटस्थमा परेको सभामुखले जानकारी गराए । विश्वासको मत लिन आह्वान गरिएको संसदको विशेष अधिवेशनमा एमालेका (झलनाथ खनाल-माधव कुमार नेपाल) समूहका २७ सांसद अनुपस्थित रहेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक आगामी वैशाख ३० गते दिउँसो १ बजे बस्ने सभामुखले जानकारी दिए ।