भरतपुर, २७ वैशाख ।
पछिल्लो २४ घण्टामा चितवनमा ७ जना कोरोना संक्रमितको निधन भएको छ । यस्तै सोही अवधिमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या भने २९ रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा १, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ५ तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा ज्यान गुमाउने संक्रमित चितवनका हुन् । यस्तै, चितवन मेडिकल कलेजमा ज्यान गुमाएका मध्ये दुई जना रुपन्देहीका हुन् भने अन्य ३ जना कपिलवस्तु, नवलपुर र चितवनका हुन् । कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएका संक्रमित चितवनका हुन् ।
हाल भरतपुर अस्पतालमा १ सय ३९, चितवन मेडिकल कलेजमा १ सय ७४, कलेज अफ मेडिकल साइन्सेसमा ७६, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ तथा अन्य अस्पतालमा ३५ जना संक्रमितले उपचार गराइरहेका छन् । भरतपुर अस्पतालले कोभिड उपचारका लागि १ सय ४५, सीएमसी अस्पतालले १ सय ६०, सीएमएस अस्पतलाले ५७ तथा क्यान्सर अस्पतालले २० वटा शय्या छुट्याएका छन् ।
जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा कोभिड संक्रमितको उपचारका लागि ७ सय ३० वटा बेड छुट्याइएका छन् । ती मध्ये ४ सय २६ बेड बिरामीले भरिएका छन् । हाल जिल्लामा २ सय ३६ जनाले आइसीयु तथा ४७ जनाले भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।