मलाई माफ गर
।१।
मेरो प्यारो साथी,
तँलाई कोभिड–१९ लाग्यो भन्ने सुनेँ
अस्पताल भर्ना भइस् भन्ने पनि सुनेँ
मैले यत्रतत्र सबैलाई फोन गरेँ र भनेँ
ऊ मेरो बालसखा हो, राम्ररी हेरिदिनु है !
अनि पुकारेँ मनमनै तँलाई गाह्रो नहोस्
किनकि तँलाई साह्रो भयो भने,
म अहिले तेरो बड छेउ जान सक्दिनँ
ए रुठे यता हेर भन्न सक्दिनँ
नभन्दै तीन दिनपछि तँ गइस्,
अनि बल्ल तेरो शरीरको तीन मिटर नजिक म गएँ
ट्वाल्ल परेका गुच्चाजस्ता आँखा हेर्दै
बचपनमा तँसँग गुच्चा खेलेको सम्झिएँ
मलाई माफ गर है ।
।२।
ए पल्लाघरे जीबा
स्कूल पढ्दा मलाई सधैँ डाक्टर बनेस् भन्नुहुन्थ्यो,
‘बासँग पैसा छैन नि’ भन्दा ‘केही त बन्छस्’ भन्नुहुन्थ्यो,
तर म डाक्टर भएको खुसियालीमा
यो कोरोनाकालमा, बिरामी नभइदिनुस् है !
हेर्नुहोस् न, हजुर बिरामी भए पनि
म हजुरको छेउमा आएर हात समात्दै अहिले ‘जीबा’ भन्न सक्दिनँ
हजुरको देहलाई केही भयो भने
त्यो आशीर्वादको सराप लाग्नेछ
कृपया यो मासमा बिरामी नभइकन जीबा मलाई कृपा गरिदिनोस् ।
।३।
ए मेरी माइली आमा
सधैँ छोरो धेरै पढेर मास्टर भएस् भन्नुहुन्थ्यो
ट्यूसन पढाएर धेरै पैसा कमाएस् भन्नुहुन्थ्यो
हिजो सुनेँ तपाईंलाई नि कोभिड भयो रे
सोधेँ अस्पतालहररूमा आइसियू बेड छैनन्
सम्झेँ तपाईंको धुवाँ र चुरोटले फुलाएको फोक्सो
सबैतिर चक्कर लगाएँ भेन्टिलेटर छैन
हुन त मास्टर भएस् भनेको डाक्टरै भा’थेँ
तर माइलीआमाको लागि म केही पनि भइनँ
मसँग अब तपाईंको अगाडि उभिने हिम्मत पनि छैन
किन यस्तो बेला बिरामी भयौ माइलीआमा
मलाई माफ गर ।
।४।
अस्पतालमा कोरोना रोगको ओथारो छ
बाहिर यत्रतत्र बिरामीको पसारो छ
वृद्ध बाआमा घरमा विश्वस्त छन् म भएकोमा
भाइबैनी मख्ख छन् दाइ डाक्टर भएकोमा
यता यो कोहोलोमा मसँग केही छैन
औंसीका रातझैं कालरात्रिहरु देख्छु
हर बिहान बिरामीका आँसुले ओझिला छन्
हर साँझ मृतकका खबरले बोझिला छन्
बाआमा कृपया घरभित्रै थुनिनूस् है
कोभिडकालमा ज्यान रहे पनि
ज्यान गए पनि
म घरिघरि हजुरहरुको वरिपरि गर्न पाउने छैन
मलाई माफ गरिदिनुस् ।
।५।
डाक्टर हुनु र नहुनुको दोसाँधमा
नर्स हुनु र नहुनुको दोसाँधमा
किंकर्तव्यविमुढ छन् हाम्रा आवाज र लवजहरु
हे मेरा आफन्तजन, हे मेरा इष्टमित्रहरू
यो कोभिड कहरमा
मनको रहरमा यताउता नगर्नुस् है
कसैलाई केही भए हेर्नुस् न
मेरो फोनले काम नगर्न सक्छ
तपाईंले हितैषी सोचेकोले केही नगर्न सक्छ
मेरो अस्पतालले सेवा नगर्न सक्छ
हाम्रो देशले बाँच्ने अक्सिजन नदिन सक्छ
मलाई माफ गर्नुस् है ।
(डा. पाैडेल भरतपुर अस्पतालमा कार्यरत छन् ।)