काठमाडौं, २५ वैशाख ।
वर्ष २०७७ को साहित्यपोस्ट उत्तम कृति पुरस्कार केदार वाशिष्ठको पुस्तक ‘नेपाल विद्या’लाई दिने निर्णय गरिएको छ । लक्ष्मण अधिकारीको कथासङ्ग्रह `मर्फिन´, सुरेश बडालको कथासङ्ग्रह `रहर´ र केदार वशिष्ठको `नेपाल विद्या´लाई निर्णायक मण्डलले दिएको नम्बरको आधारमा ‘नेपाल विद्या’लाई वर्षकै उत्कृष्ट पुस्तक ठहर गरेको हो ।
साहित्यपोस्टको वार्षिक उत्सवको अवसरमा सम्पादन मण्डल एवं स्तम्भकारहरुको भर्चुअल बैठकले निर्णायकहरुबाट प्राप्त अङ्कलाई अनुमोदन गरेको हो ।
लेखकले ५० हजार रुपैयाँ नगद एवं ताम्रपत्रको सम्मानपत्र प्राप्त गर्नेछन् । ‘अनुकूल अवस्था भएको भए साहित्यपोस्टको वार्षिक उत्सवको औपचारिक दिनमै पुरस्कार प्रदान गरिन्थ्यो ।’ प्रधानसम्पादक अश्विनी कोइरालाले भर्चुअल बैठकपछि पुरस्कार निर्णयको जानकारी दिँदै भने, ‘अहिलेको अवस्था दुष्कर छ । यही कारण लेखकसँग सम्पर्क राखेर सामान्य औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गर्न सकिन्छ कि भन्ने सोचेका छौँ ।’
पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले सुरु भएको साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि २७ पुस्तकहरु यसको परिधिमा परेका थिए । वर्षभरि छापिएका ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार एवं शुभेच्छुकहरु गरेर १५ जना निर्णायकहरुले पहिलो नौ पुस्तक छानेका थिए ।
‘नयाँ लेखकका ती पुस्तक आफैँमा कमजोर थिएनन् । तर त्यसमध्ये यो वर्षका उपलब्धिका रुपमा पहिलो तीन पुस्तक छनौट गर्यौँ ।’ कोइराला भन्छन्, ‘ती तीनमध्ये एउटा पुस्तक छान्नुपर्ने हाम्रो बाध्यता थियो । निर्णायकहरुको अन्तिम रोजाइमा `नेपाल विद्या´ परेपछि हामीले उक्त पुस्तकका लेखक केदार वशिष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेका हौँ ।’
वर्षका उत्कृष्ट डेब्यु पुस्तकहरुमा ‘नेपाल विद्या’बाहेक सुरेश बडालको कथासङ्ग्रह ‘रहर’, लक्ष्मण अधिकारीको कथासङ्ग्रह ‘मर्फिन’ परेका थिए । त्यसैगरि उत्कृष्ट कृतिभित्र प्रेमबहादुर बोहोराको संस्मरणात्मक कृति ‘कोग्ले’, पोस्तक श्रेष्ठको कथासङ्ग्रह ‘मुन्नी’, लता केसीको लघुकथासङ्ग्रह ‘चोटदेखि मृत्युसम्म’, सरला गौतमको उपन्यास `डुमेराे´, नमिता दवाडीको कवितासङ्ग्रह ‘जीवन नदीको किनारै किनार’ र प्रशान्त शर्माको उपन्यास ‘रुखहरुको मृत्यु’ पनि परेका थिए ।
‘पहिलो कृति स्तरीय होलान् भन्ने हामीलाई पत्यार थिएन । तर विभिन्न कोणबाट हेर्दा पहिलो नौ कृति राम्रा र त्यसपछिका तीन कृति उत्कृष्ट भन्न मिल्ने पुस्तक हुन् ।’ निर्णायक मण्डलका एक सदस्य राजकुमार बानियाँले भने, ‘तीमध्ये `नेपाल विद्या´ उत्कृष्ट मात्रै होइन, जनअनुमोदित भैसकेको पुस्तक भएकाले यसैमा सबैको एक मत रह्यो ।’
गोरखापत्रमा दैनिकमा कार्यरत पत्रकार केदार वाशिष्ठसँग तीन दशक लामो लेखन अनुभव छ । `नेपाल विद्या´ पुस्तक उनले विद्यावारिधि गर्ने सोच बनाउँदै गर्दा उब्जिएको विषय थियो ।
तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरकफरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरुले वर्षकै उपलब्धिका रुपमा लिएका छन् ।
साहित्यपोस्ट उत्तम कृति पुरस्कारको सौजन्य चर्चित साहित्यकार पारिजातका सहयोगी उत्तमप्रसाद पन्तले गरेका हुन् । पन्त आफैँ खारिएका लेखक हुन् । उनले लामो समय राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी योगी योगमाया न्यौपानेका विषयमा अनुसन्धान गरेका थिए ।
‘राम्रो कृतिलाई पुरस्कृत गर्न पाउँदा मलाई अपार हर्ष लागेको छ ।’ पुरस्कार घोषणपछि पन्तले भने, ‘आगामी वर्षहरुमा यस्तै डेब्यु लेखकलाई प्रोत्साहन गर्न पाइयोस् भन्ने इच्छा छ ।’