काठमाडौं, २४ वैशाख ।
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनलाई डिल्लीबजार कारागारमा रहेकै बेला कोरोना संक्रमण भएको थियो ।
त्यसपछि अधिकारीले वन्दी बस्न्यातलाई जेलमुक्त गरेर उपचारका लागि भन्दै प्रत्यक्षीकरणको रिट हालेका थिए । बस्न्यातले मुटुको रोगी भएको बताउँदै धरौटी राखेर जेलमुक्त भइ मुद्दा लड्ने व्यवस्था मिलाइदिन माग गरेका थिए ।
त्यसपछि भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई २०७७ मंसिर २८ गते थुनामा राख्ने आदेश दिएको थियो । तर उनले थुना बाहिरै रहेर मुद्दा लड्न माग गरिरहेका थिए । तर उनले हालेको बन्दी प्रत्यक्षीकरणको रिट भने सर्वोच्चले खारेज गरिदिएको छ ।