भरतपुर, २२ वैशाख ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका सर्वाधिक ८ हजार ६ सय ५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रकाशन गरेको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै एन्टिजेन विधिबाट गरिएका परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार सर्वाधिक संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ । नेपालमा पछिल्लो चार दिनदेखि दैनिक ५ हजारभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेका छन् । संक्रमितको संख्या अनियन्त्रित ढंगले बढ्न थालेपछि महामारीको दोस्रो लहर थप भयावह हुने देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यो हालसम्म एकै दिनमा दर्ता भएको सर्वाधिक मृतकको संख्या हो । यसअघि मंगलबार ५५ जना संक्रमितकको निधन भएको थियो । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ३ हजार ४ सय ७५ पुगेको छ । नेपालमा वैशाख १६ गते ३५ जना मृतक थपिएका थिए । वैशाख १७ गते ३३ जना मृतक थपिँदा वैशाख १८ गतेदेखि २० गतेसम्म क्रमशः १९, २७ र ३७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ७ सय ४९, बाँकेमा ५ सय ९१, रुपन्देहीमा ६ सय ८० तथा चितवनमा २ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, मन्त्रालयले भक्तपुरमा ४ सय ५८, ललितपुरमा ५ सय १८, कास्कीमा २ सय ८४, नवलपुरमा ३९, धादिङमा ५४, तनहुँमा ६३ र मकवानपुरमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । अन्य जिल्लाहरूमा झापामा २ सय ६९, मोरङमा २ सय ६, सुनसरीमा १ सय ७, पर्सामा १ सय ५२, धनुषामा १ सय ४७, काभ्रेमा ९६, नुवाकोटमा १ सय १२, दाङमा २ सय ६३, सुर्खेतमा १ सय ५४, कैलालीमा १ सय ४५ र कञ्चनपुरमा १ सय ४० जना संक्रमित थपिएका छन् । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न २० जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल २५ लाख ५८ हजार ५१ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने पीसीआर विधिबाट २० हजार ७ सय ५६ परीक्षण भएका छन् । अन्य ६ सय १६ परीक्षण भने एन्टिजेन विधिबाट गरिएका हुन् । एन्टिजेन विधिको परीक्षण भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि हो । स्वास्थ्य मन्त्रालयले विभिन्न १० वटा नाकामा हालसम्म २५ हजार ७ सय ९६ वटा एन्टिजेन टेष्ट गरिसकेको जनाएको छ । जसमध्ये २ हजार ३ सय ५३ वटा परीक्षणमा एन्टिजेन पोजिटिभ पाइएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि हालसम्मकै उच्च ६६ हजार ३ सय ५२ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा छन् भने बाँकी ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर २ सय ८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ । यो कूल संक्रमितको करिब ८०.५८ प्रतिशत हो ।
मन्त्रालयका अनुसार हाल देशभर १ सय ५६ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने ६ सय जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । देशभर आइसीयु कक्षको पूर्ण क्षमता संख्या १ हजार ४ सय २३ छ भने भेण्टिलेटर संख्या ५ सय ८३ छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ८८ जनाको भेण्टिलेटरमा तथा ३ सय १ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २० लाख ९१ हजार ५ सय ११ जनाले भाइरस विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् । दोस्रो मात्राको समेत खोप लगाइसकेका नागरिकको संख्या भने ३ लाख ६२ हजार १ रहेको मन्त्रालयले जनाएको छ ।