-रेणु दाहालले एमाले उम्मेद्वार देवीप्रसाद ज्ञवालीभन्दा २०३ मत बढी मत ल्याइन्
विप्लव काफ्ले
भरतपुर, २१ साउन ।
भरतपुर महानगरको मुख्य पदमा महिलाले जित हात पारेका छन् । कांग्रेस–माओवादी गठबन्धनले निकै रस्साकस्सीपछि मेयर तथा उपमेयरमा जित हात पारेको हो । माओवादी केन्द्रकी रेणु दाहालले अन्तिम समयमा आएर प्रतिस्पर्धि एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतले हराएकी छन् ।
दुई वडाको मतगणना अघिसम्म निरन्तर अग्रता लिदै आएका ज्ञवालीबीचको मतान्तर भरतपुर १९ को मतगणनामा घट्ने क्रम सुरु भएको थियो । दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धि ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याए । राप्रपाका बद्री तिमिल्सेनाले ६ हजार ८ सय ४२ मत ल्याए । निर्णायक वडाका रुपमा हेरिएको भरतपुर १९ को अन्तिम मतपरिणाममा २ सय २१ मतान्तर रहेको थियो । भरतपुर २० को मतगणनाको सुरुआती अवस्थादेखिनै दाहालले अग्रता लिदै आएकी थिइन् ।
“यो मेरो जीत महानगरबासीकै जीत हो”, उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै भनिन्, “सबैलाई समेटेर लैजाने कार्ययोजना बनाउनेछु, सबैदलसँग सहकार्य हुनेछ ।” उनले दक्षिण एशियाकै स्मार्ट सीटिका रुपमा भरतपुर महानगरपालिकालाई विकास गरिने बताइन् । “छिटै तीन चरणका योजना बनाउनेछौँ”, उनले भनिन्, “५ वर्षमा सुन्दर, व्यवस्थित महानगर बन्नेछ ।” कार्यकारी पदमा महिला नेतृत्व पाएको भरतपुर महानगरबाट अन्य नगरपालिकाले शिक्षा लिनसक्ने गरी सबल नेतृत्व दिन लागिपर्ने प्रतिवद्धता जनाइन् । उनले एकल महिला, महिला अधिकारका सवालमा आफु बढी लागिपर्ने बताइन् ।
यस्तै उपमेयर पदमा कांग्रेसकी पार्वती शाहले भार मतान्तरले जित हातपारेकी छन् । उनले प्रतिस्पर्धि एमालेकी दीव्या शर्मा आर्चायलाई ७ हजार ६ सय ७२ मतान्तरले हराइन् । शाहले ४७ हजार १ सय ९७ मत प्राप्त गरिन् । आचार्यले ३९ हजार ५ सय २५ मत ल्याइन् । यस्तै राप्रपाकी रिना गुरुङले ७ हजार २ सय ५२ मत ल्याइन् । उपमेयर शाह १९ र २० नम्बर वडाको कुल खसेको मतसंख्या भन्दा बढी मत ल्याएर अग्रस्थानमा थिइन् । “कांग्रेस–माओवादी केन्द्रले चुनावी घोषणापत्रमा उल्लेख गरेका विकासका योजना कार्यान्वयन गर्न प्रतिवद्ध भएर हिड्नेछु”, उनले भनिन्, “हाम्रो गठबन्धन अब महानगरमा ५ वर्ष कायम हुनेछ, संयुक्त गुरुयोजना बन्छ, महानगर समृद्ध बन्छ ।” उनले महानगरका विकास योजना छनौट गर्दा स्थानीय जनप्रतिनिधि र स्थानीयको मागलाई बढी आधार बनाएर गरिने बताइन् । “चुनावका बेला जेजस्ता भ्रम छरिए पनि जनताले न्याय दिएका छन्”, उनले भनिन्, “अब हामीले काम गरेर देखाउनेछौँ ।” भरतपुर महानगरमा १ लाख ५० हजार २ सय ७४ मतदाता थिए । १ लाख १२ हजार ६ सय ८२ मत खसेको थियो । भरतपुर १९ को मतपत्र च्यातिएपछि गठबन्धन झनै बलियो बनेको थियो ।
जितले गठबन्धनलाई सहज
भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि गठबन्धन दलले काम गर्न सहज वातावरण बनेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकर कंडेलले कार्यकारी पदमा गठबन्धनको जितले काम गर्ने सहज वातावरण बनेको बताए । “यो गठबन्धन ५ वर्ष निरन्तर जान्छ”, उनले भने, “आशातित ‘रिजल्ट’ आएको छ”, उनले भने, “हर्षित पनि छौँ, खुशी पनि छौँ ।” उनले दुवै पार्टीको जिल्लास्तरको बैठक बसेर कार्यगत एकता मजबुत बनाउन लागिपर्ने बताए ।
माओवादी केन्द्र भरतपुरमहानगरका सहईञ्चार्ज बाबुराम खरेलले महानगरले राम्रो नेतृत्व पाएको बताए । “तालमेल विरुद्ध खुबै प्रचार भए”, उनले भने, “जनताले न्याए दिएका छन्, अब जनताका पक्षमा काम गर्न निरन्तर सहजीकरण गर्नेछौँ ।” माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदर्शन पौडेलले गठबन्धनलाई थप बल पु¥याएको बताए । “चितवनको आकांक्ष विकास हो”, उनले भने, “विकास सम्बन्धि गुरुयोजना बनाउन सहज हुनेछ ।”
महानगरको जनप्रतिनिधि चयन हुन झण्डै तीन महिना लागेको छ । उद्योग व्यवसायीले महानगरले सबै तहमा जनप्रतिनिधि पाएकोका स्वागत गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले नीजि क्षेत्र जनप्रतिनिधिसँग मिलेर विकासमा सहयोग गर्न तयार रहेको बताए । “हामी महानगरलाई देशकै मुख्य महानगर बनाउन हातमिलाउन तयार छौँ”, उनले भने, “बजार व्यवस्थापन, नारायणी नदी किनार संरक्षण लगायतका काममा सघाउनेछौँ ।” जेठ ५ गते निर्वाचित भएर पनि काम कानुनी रुपमा काम गर्न नपाएका भरतपुर ८ का वडाध्यक्ष दामोदर न्यौपानेले निराशा आशामा बदलिएको बताए । “सपथ लिनै पाइएको थिएन”, उनले भने, “अब काम गर्ने सहज वातावरण बनेको छ, छिटै सपथ लिन पाइएला भन्ने आशा छ ।”
भरतपुर १९ र २० मा कांग्रेसको जीत
भरतपुर महानगरमा थप दुई वडामा नेपाली कांग्रेसले प्यानल सहित जितेको छ । भरतपुर १९ र २० मा कांग्रेसले वडातहमा पुरै सीट जितेको हो । भरतपुर–१९ मा भएको पुनः मतदानमा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार कर्ण गुरुङ सहितको प्यानलनै विजयी भएको हो । उनले १ हजार ४ सय ७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिवद्धन्दी एमाले उम्मेदवारले १ हजार ९७ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवारले २७ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवारले ६६ मत ल्याएका छन् । विजयी हुने वडा सदस्यमा महिलामा साधना पराजुलीले १ हजार ५ सय ९५, दलित महिला सदस्यमा चुन्चा परियार ले १ हजार ६ सय १५, खुल्ला सदस्यमा जयनारायण सापकोटाले १ हजार ५ सय ३५ र द्रोण गुरुङले १ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् । मतगणनाका क्रममा मतपत्र च्यातिएपछि साउन २० गते पुनः मतदान भएको थियो । यो वडामा २ हजार ८ सय ७० मत खसेको थियो ।
भरतपुर २० मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा मणिलाल तामाङ विजयी भएका छन् । उनले १ हजार ४ सय ४७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धि एमालेका मेखबहादुर तामाङले ८ सय ८४ मत ल्याएका थिए । यस्तै विजयी वडा सदस्यहरुमा महिला सदस्यमा मन्दिरा पोखरेल १ हजार २ सय ८६ मत, दलित महिला सदस्यमा मठै दमैले १ हजार ४ सय १५ मत, खुल्ला सदस्यमा यज्ञप्रसाद घिमिरेले १ हजार २ सय ५० मत, लोखेकन्द्र गुरुङले १ हजार २ सय ४५ मत ल्याएका छन् । यो वडामा ३ हजार २ सय ६४ मत खसेको थियो । ५० मत बदर भएको थियो ।