काठमाडौं, १९ वैशाख
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार अहिलेको अन्योलता चिर्नका लागि विश्वासको मत लिन आवश्यक रहेको बताएका थिए ।
प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् ।
हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्राविधिक रुपमा सरकार बहुमतमा रहे पनि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।