भरतपुर, १९ वैशाख ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार १ सय ३७ जना संक्रमित थपिएका छन् । सो संख्या नेपालमा हालसम्म एकै दिनमा थपिएका संक्रमितको सर्वाधिक संख्या हो । यसअघि २०७७ कार्तिक ५ गते ५ हजार ७ सय ४३ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रकाशन गरेको अध्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ हजार १ सय ३७ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो । अब संक्रमितको कूल संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ७ सय ४४, बाँकेमा ४ सय ६, रुपन्देहीमा ४ सय ६६ तथा चितवनमा ७७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, मन्त्रालयले भक्तपुरमा ३ सय १, ललितपुरमा ५ सय ५०, कास्कीमा ६९, नवलपुरमा १९, धादिङमा १ सय २०, तनहुँमा १४ र मकवानपुरमा १ सय ६९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । अन्य जिल्लाहरूमा झापामा ८५, मोरङमा २ सय ४९, सुनसरीमा ७४, पर्सामा १ सय १२, धनुषामा २ सय २८, दाङमा १ सय ३३, कैलालीमा २ सय ३२ र सुर्खेतमा १ सय ७४ जना संक्रमित थपिएका छन् । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित शून्य रहेको जिल्ला भने हाल छैनन् ।
मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल २५ लाख ४ हजार ४ सय ७६ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने पीसीआर विधिबाट १६ हजार १ सय ४७ परीक्षण भएका छन् । अन्य ६ सय २३ परीक्षण भने एन्टिजेन विधिबाट गरिएका हुन् । एन्टिजेन विधिको परीक्षण भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि हो । स्वास्थ्य मन्त्रालयले विभिन्न १० वटा नाकामा हालसम्म २४ हजार ९१ वटा एन्टिजेन टेष्ट गरिसकेको जनाएको छ । जसमध्ये २ हजार १ सय ६६ वटा परीक्षणमा एन्टिजेन पोजिटिभ पाइएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ४८ हजार ७ सय ११ पुगेको छ । कोरोना महामारी सुरु भएयता नेपालमा आइतबार सर्वाधिक सक्रिय संक्रमित संख्या दर्ज भएको हो । यसअघि २०७७ कार्तिक ७ गते देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ३ सय २९ पुगेको थियो । हाल सक्रिय संक्रमितमध्ये ४५ हजार १ सय ८१ जना होम आइसोलेसनमा छन् भने बाँकी ३ हजार ५ सय ३० जना संस्थागत आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ६७ जना क्वारेन्टिनमा छन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ । यो कूल संक्रमितको करिब ८४.५१ प्रतिशत हो । यस्तै, पछिल्लो २४ घण्टामा देशभर २७ जनाले संक्रमणका कारण ज्यान गुमाएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार हाल देशभर १ सय ३१ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने ४ सय ७७ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७७ जनाको भेण्टिलेटरमा तथा २ सय ५४ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २० लाख ९१ हजार ५ सय ११ जनाले भाइरस विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् । दोस्रो मात्राको समेत खोप लगाइसकेका नागरिकको संख्या भने ३ लाख ६२ हजार १ रहेको मन्त्रालयले जनाएको छ ।