भरतपुर, १७ वैशाख ।
खैरहनी नगरपालिकाको कुमरोज सामुदायिक वनले १ रुपैयाँमा एक भारी घाँस काट्न दिँदै आएको छ । वन संरक्षण गर्न घाँसे मैदाननै तयार पारेर स्थानीयलाई घाँसको सेवा दिँदै आएको हो ।
वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले वन संरक्षण गर्दै आएका स्थानीयलाई प्रतिदिन एकपटक काट्न पाउने गरी घाँस उपलब्ध गराउँदै आएको बताए । करिव ५ सय जनाले दैनिक रुपमा घाँस काट्न टिकट लिने गरेको उनले जानकारी दिए । “गाइभैसी, बाख्रापालन गर्ने स्थानीय लाभान्वित छन्”, उनले भने, “तोकिएको ठाउँ बाहेक अन्यत्र घाँस काट्न निषेध गरेका छौँ ।” उनका अनुसार मासिक रुपमा घाँस काट्नेलाई २५ रुपैयाँ, वर्षभरी काट्नेलाई २ सय रुपैयाँ तोकिएको छ । विहान ६ बजेदेखि ११ बजेसम्म मात्रै घाँस काट्न पाइने व्यवस्था छ ।
गत वर्ष डेढ सय हेक्टर घाँसे मैदान रहेकोमा हाल ५० हेक्टर थप भएको छ । राप्ती नदीको बगरमा तयार गरिएको घाँसे मैदानमा मात्रै घाँस काट्न पाइन्छ । “घाँसका बेर्ना समेत बाड्न नर्सरी पनि छ”, उनले भने, “साउनदेखि बेर्ना बाँड्न सुरु हुन्छ ।” गत वर्ष करिव ४ हजार बेर्ना बाँडिएकोमा यो वर्ष १० हजार बेर्ना बाँड्ने तयारी छ । डाले घाँसहरुका बेर्ना लगेर स्थानीयले आफ्नै जग्गामा समेत घाँस उत्पादन गर्दै आएका छन् । सामुदायिक वनमा चैतदेखि वैशाखसम्म बढी घाँस काट्न स्थानीय जाने गर्छन् । “हामी स्थानीयलाई घाँसे मैदान बनाउन प्रेरित गरिरहेका छौँ”, उनले भने, “विस्तारै जंगलमै गएर घाँस काट्न कमी आउने अपेक्षा गरेका छौँ ।” केही वर्षयता पशुपालन गर्ने बढेका छन् ।
यस्तै स्थानीयले आवश्यक परेका बेला अनुमति लिएर कुकाठको दाउरा उपभोग गर्ने गरेका छन् । प्रतिघरका लागि बढीमा २ क्विन्टल दाउरा लिन पाइने व्यवस्था छ । दाहसंस्कार, विवाह, व्रतबन्ध जस्ता बेलामात्रै दाउरा निःशुल्क दिने गरिएको छ । “हामी वनप्रतिको निर्भरता हटाउने योजनामा छौँ”, अध्यक्ष श्रेष्ठले भने, “आगामी वर्षदेखि स्थानीयलाई अनुदानमै ग्याँस दिने कार्यक्रम बनाइने छ ।” सकेसम्म जंगलनै जानुनपर्ने वातावरण बनाउन लागिपरेको उनको दावी छ ।
कुमरोज सामुदायिक वनमा २०४८ सालदेखि पर्यटन गतिविधि सुरु भएपनि २०५१ सालदेखि विदेशी तथा स्वदेशी पर्यटकको घुमफिरको रोजाईमा पर्न थालेको हो । यहाँ हात्ती सफारीका लागि १२ वटा हात्ती, जिप सफारीका लागि ५५ वटा जिप, डुंगा सफारीका लागि ४ वटा डुंगा सञ्चालनमा छन् । पर्यटकका लागि टावर घर, मचान, तालहरु छन् । गैँडा, बाघ, चित्तल, जरायो, गोही, चरा अवलोकन गर्न पर्यटक आउने गर्छन् । नजिकै थारु होमस्टे, दरै होमस्टे समेत छन् ।
वनका कार्यालय सचिव भरतप्रसाद नेपालका अनुसार पर्यटक प्रवेश शुल्कका रुपमा ९ महिनामा १ करोड २५ लाख आम्दानी भएको छ । गत वर्ष २ करोड आम्दानी भएको थियो भने अघिल्लो वर्ष ४ करोड आम्दानी भएको थियो । सामुदायिक वनले आम्दानीमध्ये ४० प्रतिशत विकास निर्माणमा र ६० प्रतिशत संरक्षणमा लगानी गर्दै आएको छ । सामुदायिक विकासका लागि २५ लाख, शुद्ध खानेपानीका लागि प्रतिघर ६ हजारका दरले ९ लाख, प्रतिलिटर दूध अनुदानमा ५० पैसाका दरले ६ वटा डेरी मार्फत १४ लाख रुपैयाँ लगानी गरिसकेको छ । ६ वटा विद्यालयको भौतिक विकास तथा सञ्चालनमा १५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै स्थानीयलाई जटिल उपचारमा ५ हजारदेखि ३० हजार रुपैयाँसम्म, गर्भवती तथा सुत्केरीका लागि पोषण खर्च वापत २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो वनको क्षेत्रफल ६ सय ९१ हेक्टर रहेको छ । १ हजार ८ सय ८५ घरधुरी आश्रित छन् ।